images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • गाईजात्राका अवसरमा राजधानीका टोल टोलबाट सांस्कृतिक...

गाईजात्राका अवसरमा राजधानीका टोल टोलबाट सांस्कृतिक झाँकी

गाईजात्राका अवसरमा राजधानीका टोल टोलबाट सांस्कृतिक झाँकी

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आज राजधानीका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका हुन् । 

    images
    images

    साना बालबालिकालाई गाईको रूपमा सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले गाईलाई नै सिँगारेर झाँकी प्रदर्शन गरिरहेका छन् । बालबालिकाका तुलनामा गाईलाई सिँगारेर झाँकी निकाल्ने कम देखिन्छन् । राजधानीका असन, कमलाक्षी, क्षेत्रपाटी, लगन, ओमबहाल, टेकु, महाबौद्ध, नयाँबजार, बागबजार, डिल्लीबजार, कमलपोखरी, नक्साल, चावहिल, जयवागेश्वरी, बौद्ध, चुनिखेल, बूढानीलकण्ठ, टोखा, गोकर्ण, आलापोट, साँखु, जोरपाटीलगायत स्थानबाट सांस्कृतिक झाँकी निकालिएको हो । यसरी निस्किएका सांस्कृतिक झाँकीसहितको गाईजात्रा हेर्ने दर्शकको पनि सडकका दायाँबायाँ घुइँचो लागेको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

     राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ । 

    images
    images

    भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । यस अवसरमा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको पनि आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानलगायत स्थानमा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend