काठमाडौँ । असोज १३, खोटाङ जिल्लामा क्रियाशील युवाहरूको समूहले यस वर्ष पनि ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ। कमजोर आर्थिक अवस्था र यातायातको अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई दसैँ र तिहारमा निःशुल्क आवत–जावत सेवा उपलब्ध गराउनु अभियानको मुख्य उद्देश्य हो।
अभियान संयोजक सञ्जयकुमार राईका अनुसार, यो सेवा दसैँका लागि असोज १६ देखि १९ गतेसम्म र तिहारका लागि कात्तिक ५ देखि ७ गतेसम्म सञ्चालन हुनेछ। गत वर्ष अभियानबाट ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए।
अभियान स्वेच्छिक मानवीय सेवाभावले सञ्चालन गरिएको हो। यस पटक अभियानमा हालसम्म २५ जना स्वयंसेवकको नाम दर्ता भइसकेको र थप स्वयंसेवक जुटाउने कार्य जारी रहेको संयोजक राईले जानकारी दिनुभयो। सेवा प्रदान गर्न चारपाङ्ग्रे गाडीको समेत व्यवस्था गरिएको छ।
सेवा सगरमाथा राष्ट्रिय राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा जिल्लाका ग्रामीण सडकका विभिन्न खण्डमा ३५ किलोमिटर सम्म उपलब्ध गराइनेछ। पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै आयोजकले सरकारी सेवा सुविधामा रहेका व्यक्तिहरूलाई भने सेवा नदिइने स्पष्ट पारेका छन्।
अभियान चेलीहरूलाई लक्षित गरिए पनि आवश्यकता अनुसार पुरुषहरूलाई पनि सेवा उपलब्ध गराइने छ। महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ। यात्रुले पाँच किलो सम्म झोला वा कोसेली बोक्न पाउनेछन्।
अभियानमा स्वयंसेवक बन्न इच्छुक युवासँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी साधनको बिलबुक अनिवार्य गरिएको छ। जिल्लाका दशवटै स्थानीय तहमा संयोजक तोकिएका छन्।
सहसंयोजक मौषम कार्की, आर्थिक व्यवस्थापन संयोजक बिमला राई, सचिवालय व्यवस्थापनमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहेका छन्। इकिमा सर्भिस सेन्टर र साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्नेछन्। गत वर्ष शुभम् फाउण्डेसनले चालकहरूलाई निःशुल्क खाना–खाजा उपलब्ध गराएको थियो।
महिला उद्यमी सङ्घ, युवा व्यवसायी तथा अन्य स्थानीय संस्थाहरूले अभियानमा आर्थिक र भौतिक सहयोग गर्दै आएका छन्।




.gif)





