काठमाडौँ । कात्तिक ९, पोखरा गत असोज महिनामा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३० हजार ५४७ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार तीमध्ये दक्षिण एसियाली मुलुकका १० हजार १९ जना र अन्य मुलुकका २० हजार ५२८ जना रहेका छन्।
आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार गत वर्षको असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका छन्। उनका अनुसार भदौ महिनामा भएको ‘जेनजी’ प्रदर्शन र प्रतिकूल मौसमका कारण भारतीय पर्यटक आगमन घटेको हो।
आर्थिक वर्ष २०८०।८१ मा असोज महिनामा २८ हजार ७०५ र २०८१।८२ को असोजमा ३० हजार ७३२ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए। कडरियाका अनुसार असोज र कात्तिक महिना अन्नपूर्ण क्षेत्रका मुख्य पर्यटकीय सिजन हुन्, र यस कात्तिकमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ।
डा। कडरियाले तिहारपछि मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पनि बढेको जानकारी दिए। उनका अनुसार, “यो याममा विदेशी पर्यटकहरू मुख्यत पदयात्राका लागि अन्नपूर्ण क्षेत्रमा आउँछन्। गत कात्तिकमा मात्रै ३३ हजार ३१० विदेशी पर्यटकले भ्रमण गरेका थिए।”
आयोजनाले अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्ने विदेशी पर्यटकको तथ्याङ्क मात्र संकलन गर्ने गर्दछ। तर, सडक मार्ग हुँदै हरेक वर्ष उल्लेख्य संख्यामा आन्तरिक पर्यटक पनि अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन्। चाडपर्व र बिदा पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटन पनि अत्यधिक बढ्ने कडरियाको भनाइ छ।
उनका अनुसार यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिल लगायत गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिती देखिएको छ।
वर्षा र जाडो याममा पदयात्री पर्यटक घट्ने भए पनि अन्य समयमा आन्तरिक तथा विदेशी आगमन बढ्ने गरेको आयोजकले जनाएको छ। मुक्तिनाथ जस्ता धार्मिक गन्तव्यमा पुग्ने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गर्ने गरे पनि अन्य देशका पर्यटक भने पदयात्रालाई प्राथमिकता दिने गरेको डा.कडरियाले बताए।
७ हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहअन्तर्गतका ८७ वटा वडा पर्दछन्। अन्नपूर्ण क्षेत्रलाई विश्वकै प्रसिद्ध पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।




.gif)





