काठमाडोँ । कात्तिक १४ गते, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ मा गाउँपालिकाभित्रका चार प्रमुख पर्यटकीय स्थलहरूबाट एक करोड १५ लाख २१ हजार ८० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ।
गाउँपालिकाले पुनहिल, भुरुङ तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर उक्त आम्दानी गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार आय ठेक्काबाट उठेको सम्पूर्ण रकम अग्रिम रूपमा पालिकाको खातामा जम्मा भइसकेको छ।
आय ठेक्काका विवरण अनुसारः
पुनहिल पर्यटकीय स्थल सञ्चालनका लागि होटल शिखर प्रा.लि. सँग रु. ४५ लाख ९० हजार,
भुरुङ तातोपानी कुण्डका लागि होटल हट स्प्रिङ सँग रु. ४५ लाख ९० हजार,
पाउद्वार तातोपानी कुण्डका लागि द वल्ड कमला होटल सँग रु. २२ लाख ५० हजार ९ सय,
र रातोपानी तातोपानी कुण्डका लागि होटल उत्तम एण्ड रेष्टुरेन्ट सँग रु.२ लाख ७० हजारमा आय ठेक्का सम्झौता गरिएको हो।
गाउँपालिकाका सूचना अधिकारी भवती खड्का कटुवालका अनुसार सम्झौता गर्ने पक्षले अग्रिम रूपमा सम्पूर्ण रकम बुझाएकाले आर्थिक कार्यविधि अनुसार १० प्रतिशत छुट दिई पालिकाको खातामा जम्मा गरिएको हो।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटकीय स्थलहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आन्तरिक आम्दानी वृद्धि र स्थानीयको जीवनस्तर सुधार मुख्य उद्देश्य रहेको बताउनुभयो।
उनका अनुसार गाउँपालिकाले खोप्रालेक, मोहरेडाँडा, रुप्सेछहरा, घोडेपानी, अन्नपूर्ण आधार शिविर, हुमखोला र मौरिस हर्जोग पदमार्ग लगायत स्थानका होटल, रेष्टुरेन्ट र कफीशपहरूबाट पनि व्यवसाय कर सङ्कलन गर्दै आएको छ।
खोप्रा क्षेत्रमा सञ्चालनमा रहेका होटलहरूबाट गाउँपालिकाले वार्षिक रूपमा व्यवसाय करका रूपमा रु। ३० हजार र सार्वजनिक जग्गा प्रयोगबापत रु. ३६ हजार बहाल कर असुल गर्दै आएको छ।
पर्यटकीय पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्धनका माध्यमबाट गाउँपालिकाले आन्तरिक पर्यटनलाई थप सक्रिय बनाउन र आर्थिक स्रोत विस्तार गर्न काम गर्दै आएको अध्यक्ष पुनले बताउनुभयो।




.gif)





