काठमाडौँ । नोभेम्बरमा हुने कुख्यात कलेज प्रवेश परीक्षा ‘सुनेउङ’ (सीएसएटी) का दिन दक्षिण कोरिया लगभग बन्दजस्तै हुन्छ। आवाज कम गर्न पसल र निर्माण गतिविधि रोक्नेजस्ता उपाय अपनाइन्छन् भने उडानसमेत घटाइन्छ। बिहान परीक्षण केन्द्रतर्फ जाने विद्यार्थीलाई ट्राफिक सहज बनाउन विशेष व्यवस्था गरिन्छ।
बिहीबार देशभरका करिब ५ लाख ५० हजार विद्यार्थीले यो परीक्षा दिए, जुन पछिल्लो सात वर्षकै सबैभन्दा ठूलो संख्या हो। ‘कलेज स्कॉलस्टिक एबिलिटी टेस्ट’ (सीएसएटी) ले विद्यार्थीको विश्वविद्यालय भर्नामात्र होइन, भविष्यको रोजगारी, आय, बसाइँ र सामाजिक अवसरसम्ममा ठूलो प्रभाव पार्ने मानिन्छ।
सुनेउङमा विद्यार्थीले कोरियाली भाषा, गणित, अंग्रेजी, सामाजिक,प्राकृतिक विज्ञान, विदेशी भाषा तथा हान्जा विषयका झण्डै २०० प्रश्न हल गर्नुपर्छ। धेरैका लागि यो ८ घण्टासम्म चल्ने लगातार परीक्षा हो, जसको सुरु बिहान ८ः४० र अन्त्य साँझ ६ः४० बजे हुन्छ।
दृष्टि गम्भीर रूपमा कमजोर विद्यार्थीलाई भने १.७ गुणा बढी समय दिइन्छ। अतिरिक्त भाषा विषय रोजेमा उनीहरूको परीक्षा करिब १३ घण्टासम्म लम्बिन्छ। परीक्षा अवधिभर खाजा वा बेलुका खानाका लागि छुट्टै समय दिइँदैन।
परीक्षा सकिएपछि विद्यार्थी स्कुलबाट निस्कँदा बाहिर पर्खिरहेका परिवारका सदस्यसँग अँगालो हाल्दै राहतको अनुभूति लिने गर्छन्। तर दृष्टि,सम्बन्धी सुविधा लिने केही विद्यार्थी परीक्षा रातपख मात्रै सक्ने गर्छन्।




.gif)





