images

२०८३ आश्विन २ गते

images
images
images

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • गण्डकी, २३ पुस । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् ।

    images
    images

    नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले गर्नुुभएको स्थलगत रुपमा अध्ययन अनुसन्धानपछि  पुस्तक प्रकाशन गरिएको हो ।

    पुस्तकमा यहाँ पाइने चराहरूलाई सचित्र प्रस्तुत गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुुभयो । नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने यस पदमार्ग क्षेत्रमा तीन सय प्रजातिका चरा अभिलेख गरिएको उहाँले बताउनुुभयो ।

    images
    images

    तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।

    पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुुभयो ।

    यो पदमार्ग चरा पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको बताउँदै उहाँले पुस्तकले यहाँका चराहरूका बारेमा पयर्टकलाई धेरै कुरा जानकारी मिल्ने बताउनुुभयो । नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइनुु यहाँको अर्को विशिष्टता हो । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडेभ्याकुर भेटिएका छन् । पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् । यस क्षेत्रमा काँडेभ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पाइएको उनले बताए । 

    संरक्षणको सूचीमा रहेको लुइँचे, मांसाहारी प्रजातिका विभिन्न चरा यस पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकूल, शिक्रा, वनबाज, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।

    त्यस्तै ढोडे गोकुल, हरित मालकौवा, बीउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइँया, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले यस पदमार्गको गरिमा अझै बढाएको छ ।

    स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने देखिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुुभयो । उहाँका अनुसार संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैसेगौँडामा केही वर्ष अघि लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न गरिएको थियो । 

    आफूहरू यस पदमार्गलाई केवल पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहेको बताउँदै उहाँले पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरवास सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।
     
    पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गरिदै आइएको छ ।

    शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ ।

    मिलेनियम ट्रेकमा चरा पर्यटनको सम्भाव्यतालाई दृष्टिगत गरेर नै यहाँका चराहरूबारे खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशनका लागि पर्यटन बोर्डका तर्फबाट सहयोग गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुुभयो ।

    “चरा हेर्न आउने पर्यटकहरू खर्चालुसमेत हुने र उनीहरूले चरा हेर्नकै लागि लामो समय समेत बिताउने गर्दछन्”, उहाँले भन्नुुभयो, “यस किसिमका पर्यटक भित्राउनका लागि चरा पर्यटनको विकास जरुरी छ ।” नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ ।

    पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन महत्वपूर्ण विधा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुुहन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको आगमन र बसाइ अवधि लम्ब्याउन सकिने उहाँको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend