images

२०८३ आश्विन २ गते

images
images
images

पर्यटन बोर्डको सीईओमा रोकिँदा रेग्मीलाई खुल्यो सिंहदरबारको यात्रा

पर्यटन बोर्डको सीईओमा रोकिँदा रेग्मीलाई खुल्यो सिंहदरबारको यात्रा

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित धनञ्जय रेग्मीका लागि प्रतिनिधिसभा यात्रा ठूलो राजनीतिक फड्को सावित भएको छ। व्यवसायिक र शैक्षिक पृष्ठभूमिबाट आएका रेग्मी पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रवेश गरेर सिंहदरबार सम्म पुग्न सफल भएका छन्।

    images
    images

    राजनीतिमा सक्रिय हुनुअघि रेग्मी पर्यटन क्षेत्रसँग नजिकबाट जोडिएका थिए। उनी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका थिए। बोर्डको नेतृत्व सम्हाल्दा उनले संस्थागत सुधारका विभिन्न प्रयास गरेका थिए। तर ती प्रयासहरूका क्रममा कर्मचारीहरू सँग विवाद र असहज अवस्था समेत सिर्जना भएको थियो।

    बोर्डभित्र सुधारका कार्यक्रम अघि बढाउँदा कर्मचारीहरूले अवरोध गरेको र उनीमाथि विभिन्न आरोप लगाएर विवादमा तानिएको चर्चा समेत भएको थियो। त्यही विवादका कारण उनले सीईओ पदमा पुनः नियुक्ति पाउने प्रयास गर्दा पनि सफल हुन सकेनन्। कर्मचारीहरूको लविङ र आन्तरिक असन्तुष्टिका कारण उनको दोस्रो कार्यकाल रोकिएको बताइन्छ।

    images
    images

    सीईओ हुँदा रेग्मी र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबीच पनि ठूलो विवाद भएको थियो। मन्त्री आलेले उनलाई पदबाट हटाउन कानुनी प्रयाससमेत गरेका थिए। तर ती विवादका बाबजुद रेग्मीले आफ्नो कार्यकाल पूरा गरेका थिए।

    रेग्मीलाई नेपाल पर्यटन बोर्डमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पालामा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गरिएको थियो। कोभिड–१९ महामारीका बेला उनले पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न पहल गरेको भन्दै प्रशंसा पनि गरिएको थियो।

    सीईओ कार्यकाल पछि उनी सम्मानजनक अवकाश सहित कूटनीतिक भूमिकामा जाने, विशेषगरी जापानका लागि राजदूत बन्ने चाहना राख्थे। जापानबाट पीएचडी गरेका उनले यो चाहना समय समयमा सार्वजनिक रूपमा व्यक्त पनि गरेका थिए। तर बोर्डको नेतृत्वमा पुनः नियुक्ति नपाएको घटनाले उनलाई राजनीतितर्फ आकर्षित गरेको बताइन्छ।

    राजनीतिमा प्रवेश गरेको केही महिनामै रेग्मीले स्याङ्जा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका छन्। एमाले र कांग्रेसको प्रभाव रहेको उक्त क्षेत्रमा उनले झण्डै १० हजार मतान्तरले जित हासिल गरेका हुन्।

    निर्वाचन परिणाम अनुसार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याएका थिए। एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ मत प्राप्त गर्दा नेकपाका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत पाएका थिए।

    स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन र हिमताल अध्ययनका क्षेत्रमा पनि परिचित छन्। जापानबाट पीएचडी गरेका उनले त्रिभुवन विश्वविद्यालयको भूगोल विभागमा अध्यापन समेत गरेका छन्।

    व्यवसाय, पर्यटन प्रशासन र शैक्षिक क्षेत्रमा अनुभव बटुलेका रेग्मीको राजनीतिक यात्रा अहिले सिंहदरबार सम्म पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend