काठमाडौँ, ६ चैत । काठमाडौँ महानगरपालिका ले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल मा अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ।
यस सम्बन्धमा आज महानगरपालिका र अस्पतालबीच सहकार्य सम्झौता गरिएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार अस्पतालबाट उत्पादन हुने हानिकारक फोहरका साथै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निस्कने फोहर पनि सोही प्लान्टमार्फत व्यवस्थापन गरिनेछ। महानगरले उपलब्ध गराउने रकम उपकरण खरिद तथा फोहर व्यवस्थापनस्थलमा आवश्यक संरचना (ट्रस) निर्माणका लागि प्रयोग गर्न पाइनेछ।
उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म लागू रहनेछ।
सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँमा हानिकारक फोहर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्ड अनुसारका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार यस पहलबाट अस्पताल र महानगरपालिका दुवैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।




.gif)





