images

२०८३ आश्विन २ गते

images
images
images

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

images
images
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • लमजुङ, २६ असार । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।

    images
    images

    धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो । पर्यटकीय यामको अन्त्यतिर दैनिक ५०(६० जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन एक–दुई, कुनै दिन १०–१५ जनासम्म पर्यटक आउने गरेका उनले जानकारी दिए । 

    गुरुङका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि यही असार २५ गतेसम्म अन्नपूर्ण पदमार्गमा ४० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक हजार ५०० ले बढी हो । तर वर्षायाम सुरु भएसँगै पर्यटक आगमन भने घटेको उहाँको भनाइ छ । गत जेठमा दुई हजार ७७५ जना पर्यटक पदमार्गमा आएका थिए भने असार २५ गतेसम्म ८०० जना मात्रै आएका उनले जानकारी दिए ।

    images
    images

    मस्र्याङ्दी गाउँपालिका–४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार पर्यटक आगमन घटेसँगै होटल व्यवसायको आम्दानीमा पनि असर परेको छ । पर्यटकीय याममा महिनाको रु ५०(६० हजारसम्म आम्दानी हुने जनाउँदै उनले अहिले त्यसको एकतिहाइ बराबर कमाइ हुन नसकेको बताए । “पहिले व्यापार धान्नै मुस्किल हुन्थ्यो, अहिले भने फुर्सदै फुर्सद छ”, उनले भने, “पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन् । आम्दानी निकै घटेको छ ।”

    होटल व्यवसायी गुरुङका अनुसार पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने व्यवसायील याममा कमाएको आम्दानीकै भरमा अहिलेको समय धानिरहेका छन् । पर्यटक घटेसँगै होटल, लज, रेष्टुरेण्ट, भरिया, पथप्रदर्शक तथा यातायात व्यवसायीसमेत प्रभावित भएका उनको भनाइ छ ।

    बुङ झरना नजिकै होटल व्यवसाय सालन गरिरहनुभएका खुसबहादुर तामाङले वर्षायाममा व्यवसाय सुस्ताएको बताउनुभयो । सडकको अवस्था, बाढीपहिरोको जोखिम र यात्राको असहजताका कारण पर्यटकले यात्रा गर्न नचाहँदा आगमनसँगै कमाइ पनि घटेको उनको भनाइ छ । “सडक सुरक्षित हुँदा समूह–समूहमा पर्यटक आइरहन्थे । अहिले वर्षाका कारण जोखिम बढेपछि पर्यटक आउन डराउने अवस्था छ”, उनले भने ।

    बेँसीसहर(चामे सडकमा वर्षायाममा बाढीपहिरोको जोखिम बढ्ने भएकाले अन्नपूर्ण पदमार्गको यात्रा चुनौतीपूर्ण हुने गरेको छ । सडक डिभिजन कार्यालय लमजुङका सूचना अधिकारी नवीन विस्तारका अनुसार असारदेखि असोजको पहिलो सातासम्म सडकमा बाढीपहिरोको जोखिम बढी रहने गर्दछ । सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए। 

    सामान्य अवस्थामा सडक सञ्चालनमा रहे पनि निरन्तर वर्षा वा ठूलो पहिरो खसेमा यात्रा प्रभावित हुनसक्ने सूचना अधिकारी विस्तारको भनाइ छ । विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटकले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने गर्दछन् । यस पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर हो । पर्यटन व्यवसायीले वर्षायाम समाप्त भई मौसममा सुधार आएपछि पर्यटक आगमन पुनः पुरानै अवस्थामा फर्किने अपेक्षा गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend