काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवाका जहाज मर्मतका लागि विश्वका १२ देशका ४० वटा विदेशी संस्थालाई आधिकारिक मान्यता दिएको छ ।प्राधिकरणको एयरवर्दिनेस इन्स्पेक्सन डिभिजनले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकअनुसार हाल मान्यता प्राप्त यी संस्थाहरूमध्ये राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो ए-३३०-२०० वाइडबडी जहाज मर्मतका लागि इटालीको एटीटेक पठाएको छ ।
निगमले २ वर्षअघिदेखि इटाली पठाउन थालेको जहाजको सम्पूर्ण मर्मत (सिचेक) का लागि एउटा वाइडबडी जहाज मर्मत गर्न पठाएको हो । निगमका अनुसार एउटा वाइडबडी मर्मत गरेर आउनेछ र त्यसपछि अर्को वाइडबडी सिचेकका लागि जानेछ ।
निगमले यसअघि अन्य देशमा जहाज पठाउँदै आएकोमा पछिल्लो पटक गरिएको मर्मत युरोपेली मापदण्डको इटालीमा प्रभावकारी भएकाले यस पटक पनि सोही संस्था रोजेको हो ।प्राधिकरणको सूचीको २२८औं नम्बरमा रहेको इटालीको नेपल्सस्थित एटीटेकलाई सन् २०२४ मा नेपालबाट जहाज मर्मतको अनुमति दिइएको थियो । युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) बाट समेत प्रमाणित यस संस्थाको नेपालका लागि मर्मत मान्यता सन् २०२७ फेब्रुअरी २८ सम्म कायम छ ।प्राधिकरणले हालसम्म २६१ वटा विदेशी मर्मत केन्द्रहरूलाई सूचीकृत गरे पनि १२ देशका ४० वटा संस्थाको मात्र अनुमति अवधि कायम छ । जसमा सबैभन्दा धेरै भारतका ८ मर्मत केन्द्रहरू एआई इन्जिनियरिङ, एयरवर्क्स इन्डिया, जीएमआर एयर कार्गो, हिन्दुस्तान एयरोनटिक्स, एरो एभिएसन, भर्टेक्स एभिएसन, म्याक्स एमआरओ र क्रिस एरो रहेका छन् ।
सिंगापुरका ५ वटा संस्था एसटी इन्जिनियरिङ, सेफ्रान हेलिकोप्टर, प्राट एण्ड ह्विटनी, सिंगापुर कम्पोनेन्ट सोलुसन्स र सेफ्रान इलेक्ट्रिकल तथा चीनका ५ वटा संस्था- तिब्बत एयरलाइन्स, अमेको, सिचुवान सर्भिसेस, चाइना साउदर्न र गेमकोले मान्यता पाएका छन् ।क्यानको सूचीमा क्यानडाका ५ वटा संस्था एयरोकर्प एभियोनिक, स्ट्यान्डर्ड एयरो, एजेडब्लू टेक्निक, हेली-वेल्डर्स र ग्लोबल एयरोस्पेस तथा मलेसियाका ४ वटा संस्था एसिया डिजिटल इन्जिनियरिङ, डिभिएसन टेक्निक्स, सेपाङ एयरक्राफ्ट र एमएबी इन्जिनियरिङ मर्मतका लागि योग्य देखिएका छन् ।संयुक्त राज्य अमेरिकाका ३, थाइल्याण्डका २, फ्रान्सका २ र अस्ट्रेलियाका २ वटा संस्थाको अनुमति कायम छ । जर्मनीको लुफ्थान्सा टेक्निक, डेनमार्कको डीएओ एभिएसन र इटालीको एटीटेकले पनि नेपालबाट जहाज मर्मतको आधिकारिक मान्यता पाएका छन् ।नेपालमा ठूला जहाजको जटिल प्राविधिक मर्मत र इन्जिन ओभरहल गर्ने सुविधा नभएका कारण नेपाली वायुसेवा कम्पनीहरू पूर्ण रूपमा विदेशी केन्द्रमा निर्भर हुनुपर्ने बाध्यता छ ।प्राधिकरणले ती विदेशी संस्थाहरूको प्राविधिक उपकरण, जनशक्ति र सुरक्षा मापदण्डको कडा निरीक्षण र मूल्यांकन गरेर मात्रै मर्मतका लागि स्वीकृति प्रदान गर्ने गर्दछ । यी ४० वटै संस्थाहरूको मान्य अवधि सन् २०२६ र २०२७ सम्म रहेकाले नेपाली वायुसेवाका लागि मर्मतको विकल्प सुरक्षित बनेको छ ।
नेपालबाट अनुमति प्राप्त मान्य विदेशी विमान मर्मत संस्थाहरू
| क्र.सं. | देश | संस्थाको नाम | अनुमति पाएको वर्ष (सन्) | मान्य अवधि |
| १ | इटाली | अटिटेक एस.पी.ए. | २०२४ | २०२७ फेब्रुअरी २८ सम्म |
| २ | भारत | एआई इन्जिनियरिङ सर्भिसेस लिमिटेड | २०१५ | २०२६ जुलाई १५ सम्म |
| ३ | भारत | एयरवर्क्स इन्डिया इन्जिनियरिङ प्रा. लि. | २०१६ | २०२६ जुलाई १५ सम्म |
| ४ | भारत | जीएमआर एयर कार्गो एण्ड एयरोस्पेस इन्जिनियरिङ | २०२० | २०२६ डिसेम्बर ३१ सम्म |
| ५ | भारत | हिन्दुस्तान एयरोनटिक्स लिमिटेड | २०२० | २०२६ डिसेम्बर १९ सम्म |
| ६ | भारत | एरो एभिएसन सर्भिसेस प्रा. लि. | २०१८ | २०२७ मे २२ सम्म |
| ७ | भारत | एम/एस भर्टेक्स एभिएसन प्रा. लि. | २०२२ | २०२७ अप्रिल ७ सम्म |
| ८ | भारत | म्याक्स एमआरओ सर्भिसेस प्रा. लि. | २०२४ | २०२७ अप्रिल १ सम्म |
| ९ | भारत | क्रिस एरो सर्भिसेस प्रा. लि. | २०२४ | २०२६ अगस्ट ३० सम्म |
| १० | सिंगापुर | एसटी इन्जिनियरिङ एयरोस्पेस सिस्टम्स | २००५ | २०२६ जुलाई १५ सम्म |
| ११ | सिंगापुर | सेफ्रान हेलिकोप्टर इन्जिन्स एसिया | २००५ | २०२७ जुलाई १५ सम्म |
| १२ | सिंगापुर | प्राट एण्ड ह्विटनी क्यानडा (एसईए) | २००६ | २०२६ नोभेम्बर ३० सम्म |
| १३ | सिंगापुर | सिंगापुर कम्पोनेन्ट सोलुसन्स प्रा. लि. | २०१४ | २०२७ जुलाई १५ सम्म |
| १४ | सिंगापुर | सेफ्रान इलेक्ट्रिकल एण्ड पावर सिंगापुर | २०२५ | २०२६ अगस्ट २४ सम्म |
| १५ | चीन | तिब्बत एयरलाइन्स | २०१५ | २०२६ जुलाई १५ सम्म |
| १६ | चीन | एयरक्राफ्ट मेन्टेनेन्स एण्ड इन्जिनियरिङ कर्पोरेशन | २०१९ | २०२६ डिसेम्बर १५ सम्म |
| १७ | चीन | सिचुवान सर्भिसेस एयरो इन्जिन मेन्टेनेन्स | २०१८ | २०२७ मे ९ सम्म |
| १८ | चीन | चाइना साउदर्न एयरलाइन्स कम्पनी लिमिटेड | २०२५ | २०२७ जनवरी १९ सम्म |
| १९ | चीन | ग्वाङ्जाउ एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ | २०२५ | २०२६ जुलाई २१ सम्म |
| २० | थाइल्याण्ड | थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड | २०१५ | २०२७ मार्च ९ सम्म |
| २१ | थाइल्याण्ड | मिसेलिन | २०२० | २०२७ जनवरी २० सम्म |
| २२ | फ्रान्स | साबेना टेक्निक्स डीएनआर | २०१४ | २०२७ अप्रिल २३ सम्म |
| २३ | फ्रान्स | सोसाइटी एयर फ्रान्स | २०१६ | २०२६ जुलाई १५ सम्म |
| २४ | जर्मनी | लुफ्थान्सा टेक्निक | २०१४ | २०२७ जुलाई १५ सम्म |
| २५ | क्यानडा | एयरोकर्प एभियोनिक सोलुसन्स इन्क | २००५ | २०२६ अगस्ट १ सम्म |
| २६ | क्यानडा | स्ट्यान्डर्ड एयरो हेलिकोप्टर सर्भिसेस | २०२० | २०२७ जनवरी ६ सम्म |
| २७ | क्यानडा | एजेडब्लू टेक्निक इन्क | २०२१ | २०२७ मार्च १५ सम्म |
| २८ | क्यानडा | हेली-वेल्डर्स क्यानडा लिमिटेड | २०२४ | २०२७ अप्रिल ४ सम्म |
| २९ | क्यानडा | ग्लोबल एयरोस्पेस कर्पोरेशन | २०२३ | २०२६ डिसेम्बर ९ सम्म |
| ३० | संयुक्त राज्य अमेरिका | एयरक्राफ्ट प्रोपेलर सर्भिस | २०१९ | २०२७ मार्च १ सम्म |
| ३१ | संयुक्त राज्य अमेरिका | नाम्पा भ्याली हेलिकोप्टर्स इन्क | २०२३ | २०२६ नोभेम्बर ३० सम्म |
| ३२ | संयुक्त राज्य अमेरिका | ईआईआईएफ म्यानेजमेन्ट | २००७ | २०२६ जुलाई १५ सम्म |
| ३३ | मलेसिया | एसिया डिजिटल इन्जिनियरिङ | २०२२ | २०२६ सेप्टेम्बर ८ सम्म |
| ३४ | मलेसिया | डिभिएसन टेक्निक्स | २०१७ | २०२६ जुलाई १५ सम्म |
| ३५ | मलेसिया | सेपाङ एयरक्राफ्ट इन्जिनियरिङ | २०१७ | २०२७ जुलाई १५ सम्म |
| ३६ | मलेसिया | एमएबी इन्जिनियरिङ सर्भिसेस | २०२३ | २०२७ अप्रिल ३० सम्म |
| ३७ | अस्ट्रेलिया | टीएई एयरोस्पेस प्रा. लि. | २०१२ | २०२६ जुलाई १५ सम्म |
| ३८ | अस्ट्रेलिया | प्यासिफिक टर्बाइन ब्रिसबेन | २०१४ | २०२७ जुलाई १५ सम्म |
| ३९ | बेलायत | टर्नर एभिएसन लिमिटेड | २०२४ | २०२६ डिसेम्बर १८ सम्म |
| ४० | डेनमार्क | डीएओ एभिएसन | २००५ | २०२६ जुलाई १५ सम्म |




.gif)





