images

२०८३ आश्विन २ गते

images
images
images

एक वर्षमा नेपालीको पर्यटन खर्च साढे ४ खर्ब रुपैयाँभन्दा बढी

एक वर्षमा नेपालीको पर्यटन खर्च साढे ४ खर्ब रुपैयाँभन्दा बढी

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं  । नेपालमा आन्तरिक पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको तथ्य सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.६५ प्रतिशत योगदान गरेको छ भने नेपालीहरूले पर्यटनसम्बन्धी गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्।राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो पटक पर्यटन स्याटलाइट लेखा (Tourism Satellite Account–TSA) को अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ को प्रतिवेदनले नेपालको पर्यटन क्षेत्रको आर्थिक प्रभाव, नेपालीहरूको भ्रमण संस्कार तथा यस क्षेत्रका सम्भावना र चुनौतीलाई विस्तृत रूपमा प्रस्तुत गरेको हो।प्रतिवेदनअनुसार कुल पर्यटन खर्चमध्ये ३ खर्ब ९५ अर्ब ४१ करोड रुपैयाँ देशभित्र गरिएका भ्रमणमा खर्च भएको छ भने विदेश भ्रमणमा नेपालीहरूले ६३ अर्ब ६४ करोड रुपैयाँ खर्च गरेका छन्।

    images
    images

    नेपालका कुल घरपरिवारमध्ये ५२.४ प्रतिशत अर्थात् करिब ३६ लाख २० हजार घरपरिवारले कम्तीमा एक पटक पर्यटन भ्रमण गरेको तथ्यांकले देखाएको छ। यसले आन्तरिक पर्यटनप्रति नेपालीहरूको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको संकेत गरेको छ।भ्रमणको उद्देश्यअनुसार रात बिताएर गरिने यात्रामा आफन्त तथा साथीभाइसँगको भेटघाट प्रमुख कारण बनेको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ। त्यसैगरी, सोही दिन फर्किने यात्रामा किनमेल (३२.६ प्रतिशत) र स्वास्थ्य उपचार (२०.१ प्रतिशत) मुख्य उद्देश्यका रूपमा रहेका छन्।एक पटकको पर्यटन भ्रमणमा नेपालीहरूले औसत ११ हजार ९२२ रुपैयाँ खर्च गर्ने गरेका छन्। स्वास्थ्य उपचारका लागि गरिने भ्रमण सबैभन्दा खर्चिलो देखिएको छ, जहाँ प्रतिव्यक्ति औसत २३ हजार ५१६ रुपैयाँ खर्च हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

    लोकप्रिय पर्यटकीय गन्तव्यहरूको सूचीमा काठमाडौं, चितवन र कास्की अग्रस्थानमा रहेका छन्। व्यापारिक गतिविधि र स्वास्थ्य सेवाका लागि काठमाडौं प्रमुख गन्तव्य बनेको छ भने मनोरञ्जन र अवकाश पर्यटनका लागि कास्की, विशेषगरी पोखरा, नेपालीहरूको रोजाइमा परेको छ।आन्तरिक पर्यटनका लागि कात्तिकदेखि पुससम्मको अवधि सबैभन्दा व्यस्त मौसमका रूपमा देखिएको छ। यस अवधिमा वार्षिक आन्तरिक भ्रमणको ३४ प्रतिशतभन्दा बढी हिस्सा रहेको तथ्यांकले देखाएको छ।

    images
    images

    उमेर समूहका आधारमा हेर्दा १३ देखि २८ वर्ष उमेर समूहका युवाहरू (जेनेरेसन जेड) आन्तरिक पर्यटनमा सबैभन्दा सक्रिय देखिएका छन्, जसको हिस्सा २६.६ प्रतिशत रहेको छ। ० देखि १२ वर्ष उमेर समूहका बालबालिकाको हिस्सा २२.६ प्रतिशत रहेको छ भने उमेर बढ्दै जाँदा पर्यटनमा सहभागिता घट्दै गएको प्रतिवेदनले औंल्याएको छ।प्रतिवेदनले पर्यटन क्षेत्रको दिगो विकासका लागि सडक तथा हवाई पूर्वाधारको स्तरोन्नति, क्षेत्रीय हवाई सेवाको विस्तार, ग्रामीण होमस्टे तथा सामुदायिक पर्यटनको प्रवर्द्धन, युवा र ज्येष्ठ नागरिकलाई लक्षित विशेष पर्यटन प्याकेजको विकास तथा पर्यटनसम्बन्धी नियमित तथ्यांक संकलनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको छ।राष्ट्रिय तथ्यांक कार्यालयले पहिलोपटक गरिएको यो सर्वेक्षणले नेपालको पर्यटन क्षेत्रको वास्तविक आर्थिक योगदानलाई मापन गर्न महत्वपूर्ण आधार तयार गरेको र भविष्यका पर्यटन नीति तथा योजनाहरू निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend