काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली लेखक शिव न्यौपानेले आफ्ना आदरणीय गुरु तथा चिराग हायर सेकेन्डरी बोर्डिङ स्कुलका वरिष्ठ शिक्षक रुक्मागत भण्डारीको सम्मानित अवकाशको अवसरमा भावपूर्ण खुला पत्र सार्वजनिक गरेका छन्।
चालीस वर्षसम्म शिक्षण सेवामा समर्पित भएर हजारौँ विद्यार्थीको जीवन निर्माणमा योगदान पुर्याएका भण्डारीप्रति न्यौपानेले गहिरो सम्मान र कृतज्ञता व्यक्त गरेका छन्। उनले शिक्षकको योगदान कुनै पनि प्रसिद्धि वा पदभन्दा ठूलो हुने उल्लेख गर्दै समाजका सफल व्यक्तित्वहरूको सफलताको जग शिक्षककै त्याग, प्रेरणा र मार्गदर्शनमा निर्माण हुने बताएका छन्।
खुला पत्रमा न्यौपानेले आफ्नो विद्यालय जीवनका अनेक स्मृतिहरू पनि सजीव रूपमा प्रस्तुत गरेका छन्। आर्थिक अभावका बीच वर्षायाममा केराको पात ओढेर विद्यालय गएको, खरको छाना भएको कक्षाकोठामा अध्ययन गरेको, जाडोमा घाममा बसेर पढेको र शिक्षकहरूको अनुशासन तथा ममताले जीवनका महत्त्वपूर्ण पाठ सिकाएको अनुभव उनले स्मरण गरेका छन्।
उनले तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको हेलिकोप्टर हेर्न कक्षा छोडेर गएको घटनालाई सम्झँदै त्यसपछि शिक्षकहरूले दिएको अनुशासनको शिक्षाले जीवनभर सही बाटोमा अघि बढ्न प्रेरणा दिएको उल्लेख गरेका छन्।
न्यौपानेले आज प्रविधियुक्त आधुनिक शिक्षण प्रणालीको युग आए पनि शिक्षाको वास्तविक गुणस्तर भवन वा उपकरणले होइन, शिक्षकको समर्पण, इमानदारी र सेवाभावले निर्धारण गर्ने बताएका छन्। उनका अनुसार शिक्षकहरूको हातमा चक, कालोपाटी र केही पुस्तक मात्र भए पनि उनीहरूले हजारौँ विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गरेका छन्।
खुला पत्रमा उनले आफू गाउँको सामान्य विद्यालयबाट अध्ययन गरी अष्ट्रेलियामा आफ्नो जीवन निर्माण गर्न सफल भएको, नेपाली भाषा, साहित्य तथा विश्वव्यापी परिकारसम्बन्धी अनुसन्धानमा योगदान दिन पाएको र अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनबाट सद्भावपूर्ण पत्र प्राप्त गर्न सकेको आधार आफ्ना शिक्षकहरूले दिएको शिक्षा र प्रेरणा रहेको उल्लेख गरेका छन्।
उनले नेपालदेखि अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, दक्षिण कोरिया तथा युरोपका विभिन्न मुलुकमा रहेका आफ्ना गुरुका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफलतापूर्वक कार्यरत रहेको उल्लेख गर्दै उनीहरूको सफलतामा गुरुको शिक्षाको अमिट छाप रहेको बताएका छन्।

पत्रको अन्त्यमा न्यौपानेले गुरु रुक्मागत भण्डारीप्रति सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट हार्दिक सम्मान र असीम कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, “हामी आफूमाथि विश्वास गर्नुअघि नै हामीमा विश्वास गरेकोमा धन्यवाद। हाम्रो जीवनको दिशा परिवर्तन गरिदिएकोमा धन्यवाद। हामीलाई केवल पढाएनन, राम्रो मानिस बन्न पनि सिकाएकोमा धन्यवाद।”
उनको यो खुला पत्र सामाजिक सञ्जालमा समेत व्यापक रूपमा प्रशंसा भइरहेको छ। धेरै पूर्वविद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान व्यक्त गर्दै यसलाई शिक्षकप्रतिको कृतज्ञताको उत्कृष्ट उदाहरणका रूपमा टिप्पणी गरेका छन्।




.gif)





