धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति विवादमा तानिएको छ । स्वार्थ बाझिने व्यक्तिलाई राजनीतिक पहुँच र प्रभावका आधारमा नियुक्त गरिएको भन्दै विरोध भइरहेको छ ।चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत अभियन्ता डा. गोविन्द केसीले समेत नियुक्तिको विरोध गरेका छन् । उनले भनेका छन्, ‘सरकारी अस्पताल र विश्वविद्यालयमा निजी मेडिकल कलेजका मालिक र दलालहरूलाई पदाधिकारी नियुक्त गरिनु भनेको गेटालाई सिध्याउनु हो । मेडिकल माफियाले विश्वविद्यालय कब्जा गरेका छन्, यसले चिकित्सा शिक्षाको गुणस्तरलाई ध्वस्त पार्नेछ ।’शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सुनिल कुमार जोशी उपकुलपति र भीम चन्द रजिस्ट्रार छन् ।रजिस्ट्रार चन्द कुनै समय पुष्पकमल दाहाल 'प्रचण्ड'सँग निकट थिए । गेटामा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने विधेयक संसद्मा लैजाने तयारी अन्तिम चरणमा पुगेको अवस्थामा ०७९ फागुन ५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सुदूरपश्चिम भ्रमणमा आएका थिए । यस क्रममा प्रचण्डसँगै हेलिकप्टर चढेर भीम चन्द पनि धनगढी ओर्लिएका थिए । भीम चन्द निजी क्षेत्रको पिपुल्स डेन्टल कलेजका सीईओ र काठमाडौँ मेडिकल कलेज (केएमसी) का सञ्चालक समूहका मुख्य व्यक्ति हुन् ।
एक निजी मेडिकल कलेजका मालिकलाई तत्कालीन प्रधानमन्त्रीले सरकारी हेलिकप्टरमा सरकारी आयोजनाको निरीक्षणमा ल्याउनु आफैँमा एउटा ठुलो रहस्य थियो । सोही दिन गेटा पुगेर प्रचण्डले एकाएक घोषणा गरे– ‘अब यहाँ प्रतिष्ठान होइन, विश्वविद्यालय बन्छ ।’सरकारी स्तरबाट गेटालाई विश्वविद्यालय बनाउने घोषणा गर्ने पहिलो व्यक्ति प्रचण्ड थिए । स्रोतका अनुसार विश्वविद्यालय बनाउने प्रक्रिया सुरु भएपछि भीम चन्दको सक्रियता झन् बढ्यो । जो व्यक्ति निजी मेडिकल कलेज चलाएर नाफा कमाइरहेको छ, उसैलाई सरकारी विश्वविद्यालयको ऐन र नियम बनाउने मस्यौदा (ड्राफ्टिङ) कमिटीको वरिपरि राखियो । शिक्षा मन्त्रालयका कोठाहरूमा भीम चन्दले आफ्नो व्यापारिक स्वार्थ अनुकूलका प्रावधानहरू थप्न निकै जोड बल गरेको स्रोतको दाबी छ । चन्दले पछि गएर उनी र उनकै मान्छेहरू फिट हुन सक्ने गरी मापदण्ड बनाउन भूमिका निर्वाह गरेको आरोप छ । उनले ऐनमा रजिस्ट्रारलाई शक्तिशाली बनाउने र उपकुलपतिलाई नियन्त्रणमा राख्न सकिने गरी कानुनी छिद्रहरू राख्न लगाएको स्रोत बताउँछ ।पछिल्लो समय चन्दलाई राजनीतिक रूपमा काँध थाप्न राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेता सक्रिय देखिएको बताइन्छ । रास्वपाका सांसद केपी खनाल र सोही पार्टीका अर्का नेता आनन्द बहादुर चन्दकै जोडबलमा भीम चन्दलाई विश्वविद्यालयको रजिस्ट्रार नियुक्त गरिएको उच्च स्रोतको भनाइ छ । उनीहरुले प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयमा पुगेर भीम चन्दलाई नियुक्ति दिन ठुलो दबाब दिएको बताइन्छ ।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने मागका पछाडि अर्को एउटा पक्ष पनि लुकेको छ । स्रोतका अनुसार, गेटामा अस्पताल निर्देशक खटाएर सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुग्दा भीम चन्द लगायतको समूहले शीर्ष नेताहरूलाई प्रभावमा पारी अवरोध सिर्जना गरेको थियो । उनीहरूले केही स्थानीय व्यक्तिहरूलाई फन्डिङ गरेर विश्वविद्यालयकै माग राख्दै आन्दोलन गर्न लगाए ।पूर्वाधार विकास समितिमा रहेका केही व्यक्तिको मिलेमतोमा अस्पताललाई चाहिने भवनको काम समेत रोकियो । ३ वर्षसम्म अस्पताल चल्न नदिने र संस्थालाई अनिर्णयको बन्दी बनाउने उनै पात्रहरू अहिले विश्वविद्यालयको हर्ताकर्ता बनेर भित्रिएका छन् । यदि त्यतिबेलै प्रतिष्ठानका रूपमा अस्पताल चलेको भए अहिले सुदूरपश्चिमका जनताले सेवा पाइसकेका हुने थिए भन्ने स्रोतको दाबी छ ।वर्तमान उपकुलपति डा. सुनिल कुमार जोशीलाई भीम चन्दले नै आफ्नो स्वार्थ पूर्तिका लागि अघि सारेको चर्चा छ । डा. जोशीलाई सामाजिक सञ्जालमा सक्रिय रहने तर प्रशासनिक रूपमा कमजोर ‘डमी’ पात्रका रूपमा प्रयोग गर्दै वास्तविक आर्थिक र प्रशासनिक अधिकार रजिस्ट्रार चन्दले आफूमा केन्द्रित गरेको बताइन्छ । चन्दले नियुक्ति पाउनुअगावै विश्वविद्यालयमा बसेर मन्त्रालय धाउने र प्रशासनिक कमान्ड सम्हाल्ने काम गरिसकेका थिए ।
यो ‘सेटिङ’ को विरुद्धमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन् । सेती प्रादेशिक अस्पतालको आईसीयू बेडबाट उनले यो नियुक्तिको कडा विरोध गरेका छन् । डा. केसीका प्रमुख मागहरूमध्ये शहीद दशरथ चन्द विश्वविद्यालयमा स्वार्थ बाझिने व्यक्तिहरूलाई गरिएको नियुक्ति खारेज हुनुपर्ने पनि एक हो ।विश्वविद्यालयमा स्थायी दरबन्दी सिर्जना गरेर लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गर्नुको साटो सबै कर्मचारीलाई करारमा भर्ती गर्ने दबाब दिइएको छ । यसको पछाडि आफ्नो स्वार्थ समूहका मान्छे र कार्यकर्तालाई विश्वविद्यालयमा भित्र्याउने योजना रहेको उच्च स्रोतको दाबी छ । हिजो गेटा अस्पताल चल्न नदिन आन्दोलन गराउनेहरू नै विश्वविद्यालयको नाममा आफ्ना कार्यकर्ता भर्ना गर्न मरिहत्ते गरिरहेको यस क्षेत्रका अभियन्ता बताउँछन् ।




.gif)





