काठमाडौँ, २१ साउन । वैदेशिक रोजगार विभागले कानुनविपरीत विदेशी विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको पुष्टि भएपछि थप ३९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको छ।
विभागका अनुसार ती संस्थाले विभागको पूर्वस्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गरेको पाइएकाले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिएको हो। विभागले कानुनविपरीत श्रमिक पठाउने तथा आवश्यक विवरण नबुझाउने संस्थामाथि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।
यसअघि नै विभिन्न प्रकृतिका उल्लंघनका कारण ५९८ वटा म्यानपावर कम्पनी कारबाहीको दायरामा परिसकेको विभागले जनाएको छ। साथै, आवश्यक विवरण उपलब्ध नगराएका थप १२४ वटा म्यानपावर कम्पनीलाई पनि ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
यता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग १५ दिनभित्र सम्बोधन नभए देशभरका म्यानपावर कम्पनी बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ। संघले विभागको पछिल्लो कारबाहीप्रति असन्तुष्टि जनाउँदै छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
सरकारले वैदेशिक रोजगार क्षेत्रलाई कानुनी दायराभित्र ल्याउने अभियानलाई तीव्र बनाइरहेका बेला व्यवसायीहरू आन्दोलनको तयारीमा रहेकाले दुवै पक्षबीचको विवाद थप चर्किने संकेत देखिएको छ।




.gif)





