काठमाडौं । अष्ट्रेलियामा आधारित नेपाली लेखक तथा ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै आएको जलवायु न्यायको मागप्रति ऐक्यबद्धता जनाएका छन्।
न्यौपानेले जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि त्यसको प्रत्यक्ष तथा गम्भीर प्रभाव नेपालले भोगिरहेको भन्दै जलवायु न्यायको विषयलाई विश्वव्यापी रूपमा उठाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिने क्रम बढ्नुका साथै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएका छन्। यसको प्रभाव कृषि उत्पादन, जीविकोपार्जन तथा समग्र जनजीवनमा समेत परेको उनको भनाइ छ।
‘नेपाललाई दया होइन, जलवायु न्याय चाहिन्छ’
न्यौपानेले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता देशलाई राहत वा दयाको दृष्टिले मात्र हेर्न नहुने बताएका छन्। जलवायु संकटमा कम योगदान गरेका तर यसको असर बढी भोगिरहेका राष्ट्रको अधिकारलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
उनले जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा स्थापित गर्दै जलवायु परिवर्तनमा बढी योगदान गर्ने मुलुकहरूले आफ्नो जिम्मेवारीअनुसार प्रभावित राष्ट्रलाई सहयोग गर्नुपर्ने विषयमा जोड दिएका छन्।
नेपालले हिमाल, हिमनदी, जैविक विविधता, कृषि तथा प्राकृतिक स्रोतमा जलवायु परिवर्तनको प्रभाव भोगिरहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु वित्त, अनुकूलन, क्षति तथा नोक्सानी र जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
नेपालको आवाज विश्वले सुन्नुपर्ने धारणा
जलवायु परिवर्तनको असर सीमाना र भूगोलमा सीमित नरहने भएकाले विश्व समुदायले जलवायु संकटलाई साझा चुनौतीका रूपमा लिनुपर्ने न्यौपानेले बताएका छन्।
उनले नेपालजस्ता संवेदनशील मुलुकको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्। जलवायु संकटमा योगदान र असरबीचको असमानतालाई सम्बोधन गर्न न्यायपूर्ण र जिम्मेवार अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको धारणा छ।
नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि राष्ट्रियस्तरमा प्रयास गरिरहे पनि सीमित स्रोतसाधन भएका मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण हुने भएकाले विकसित तथा बढी उत्सर्जन गर्ने राष्ट्रहरूको जिम्मेवारी अझ महत्वपूर्ण हुने बताइएको छ।
जलवायु परिवर्तनबाट प्रभावित समुदायको संरक्षण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा भावी पुस्ताको सुरक्षित भविष्यका लागि विश्व समुदायले साझा जिम्मेवारी वहन गर्नुपर्नेमा न्यौपानेले जोड दिएका छन्।
‘जलवायु न्याय नेपालको अधिकार हो, विश्वको जिम्मेवारी पनि हो’ भन्ने सन्देशसहित उनले नेपालको जलवायु न्यायसम्बन्धी आवाजप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन्।




.gif)





