बागलुङ, २३ साउन । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको आगमन बढ्दै गएको छ। आर्थिक वर्ष २०८२।८३ मा ढोरपाटनमा ३७ हजार ५२० पर्यटक पुगेका छन्।
ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङका अनुसार पर्यटकमध्ये ३७ हजार २७० नेपाली रहेका छन्। कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पर्यटकको सङ्ख्या करिब १३ हजारले बढेको हो।
आर्थिक वर्ष २०८१।८२ मा ढोरपाटनमा २३ हजार ६९२ पर्यटक पुगेका थिए भने आव २०८०।८१ मा यो सङ्ख्या १५ हजार ५७३ थियो।
पर्यटकको आगमन बढेसँगै ढोरपाटनबाट प्राप्त हुने राजस्व समेत उल्लेख्य रूपमा वृद्धि भएको छ। आव २०८२।८३ मा पर्यटक प्रवेश शुल्कबाट मात्रै ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा प्रवेश शुल्कबाट ३१ लाख २१ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो।
ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विस्तार, बुकीपाटन र जलजलाको बढ्दो चर्चा तथा पदयात्राप्रतिको आकर्षणका कारण पर्यटकको सङ्ख्या बढ्दै गएको रेञ्जर सुवेदीले बताए।
आरक्ष कार्यालयले नेपाली पर्यटकका लागि १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
यसैगरी, आरक्ष क्षेत्रमा ढुङ्गा, गिट्टी तथा बालुवाबाट आव २०८२।८३ मा १ करोड १ लाख २७ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ लाख ४१ हजार रुपैयाँ बढी हो।
पछिल्लो समय ढोरपाटन सिकार खेल्न आउने विदेशी पर्यटकमा मात्र सीमित नरही आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बन्न थालेको छ। ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला लगायतका क्षेत्र अवलोकन तथा पदयात्राका लागि आन्तरिक पर्यटकको आकर्षण बढेको कार्यालयले जनाएको छ।
समुद्री सतहबाट २ हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि चार हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्। पर्यटकका लागि शुल्क तिरेर पालसहित बस्न सकिने व्यवस्था समेत गरिएको आरक्ष कार्यालयले जनाएको छ।
रेञ्जर सुवेदीका अनुसार पर्यटक सूचना प्रणालीको विकास, पर्यटन पदमार्गको रुट कायम तथा अन्य पूर्वाधार विस्तारसँगै ढोरपाटनको प्रचारप्रसार बढेकाले आगामी दिनमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ।




.gif)





