images

२०८३ आश्विन २ गते

images
images
images

बाँकेको सन्तानेश्वरमा धार्मिक पर्यटकको आगमन बढ्दै

बाँकेको सन्तानेश्वरमा धार्मिक पर्यटकको आगमन बढ्दै

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • राँझा (बाँके), २३ साउन । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । साउनमा सामूहिक रूपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने भक्तजनको दैनिक घुइँचो लाग्ने गरेको  छ । सोमबार र शनिबारको दिनमा बाँके, बर्दिया, दाङलगायत छिमेकी मुलुक भारतबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेका मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिएका छन् । 

    images
    images

    “सन्तानेश्वर मन्दिरको आफ्नै महत्व र इतिहास छ । भगवान् शिवले मानवसहित सजीव प्राणीका मनोकाङ्क्षा सुन्नुहुन्छ भन्ने विश्वास छ”, उनले भने, “यस मन्दिरको दर्शन गरेमा अपूरा काम पूरा हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।” साउनको महिनामा सोमबारे ब्रत बसेका महिला तथा भक्तजन दुःखकष्टका साथ यस मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको पुजारी गिरीले बताएका छन् । भारतबाट भक्तजन आउने भएकाले धार्मिक पर्यटकको प्रशस्त सम्भावना बोकेको सन्तानेश्वर मन्दिरसम्म जाने व्यवस्थित सडक नहुँदा केही असहज भएको उनको भनाइ छ । 

    पुजारी गिरीका अनुसार सोमबार सयौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । अन्य महिनामा भने भक्तजनको आगमन न्यून हुने उहाँको भनाइ छ । “साउन महादेवको महिना पनि भएकाले यो मन्दिरमा आउने भक्तजन बढी हुन्छन्”, उनले भने ।

    images
    images

    नेपालगञ्जबाट करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किमी जङ्गलको कच्ची बाटोमा मोटरसाइकलमा यात्रा गरेपछि करिब दुई किमी पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ । “खासगरी श्रावण मास शिवशङ्कर भगवान्को महिना भएकाले यो महिनामा शिवभक्तहरूले शिवकाँवरिया, पैदलयात्रा तथा जल पूजन जस्ता धार्मिक कार्यक्रम सञ्चालन गर्दछन्”, पुजारी गिरीले भने, “यसमा स्थानीय परम्परागत नाच नाच्ने, भजन गाउने जस्ता कार्यले पुराना संस्कतिको संरक्षण हुनुका साथै सामाजिक सद्भाव काय रहिरहन्छ ।”

    बर्सेनि यहाँ आउने भक्तजन थपिँदै गए पनि भौतिक पूर्वाधार, सडक स्तरोन्नति लगायत काम नहुँदा आगन्तुले सास्ती खेप्नु परिरहेको छ । मन्दिरसम्म पुग्ने सडक, खानेपानी र भक्तजनलाई ओतलाग्ने आश्रमस्थलको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै पुजारी गिरीले यी सुविधाको अभावमा भक्तजनले सास्ती व्यर्होनु परिरहेको बताएका छन् । सहरभन्दा टाढा जङ्गलको बीच पहाडको टाकुरामा मन्दिर रहेकाले प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन गर्न र पैदलयात्राका लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिएका छन् ।

    सन्तानेश्वर मन्दिरमा पुगेकी कोहलपुर नगरपालिका–१४ निवासी अनिता पौडेलले मन्दिर पुग्ने बाटो अफ्ठेरो भएपनि साथीहरूसँग समूहमा आउँदा रमाइलो भएको बताएका छन् । यस महादेवको पूजाअर्चनासँगै पहाडको उकालो बाटो, हरियाली वन जङ्गलको प्राकृतिक दृश्यले आनन्दित तुल्याएको उनले उल्लेख गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend