images

२०८३ आश्विन २ गते

images
images
images

धागोबाट सृजना, आत्मनिर्भर बन्दै महिला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै महिला

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • तुलसीपुर (दाङ), २५ साउन । दाङको घोराहीमा धागोबाट विभिन्न सामग्री उत्पादन गर्ने सीपले महिलालाई रोजगारी र आम्दानीसँग जोड्दै आत्मनिर्भर बन्ने आधार तयार गरेको छ। घरायसी काम र छोराछोरीको हेरचाहमा सीमित हुने महिलाहरू अहिले सीप सिकेर व्यावसायिक उत्पादनमा सक्रिय हुन थालेका छन्।

    images
    images

    दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराहीमा बसेर छोरी पढाउँदै आएको छ । केही समयअघिसम्म छोराछोरीलाई विद्यालय पठाएपछि खाली समय सामाजिक सञ्जाल चलाएर बिताउने उनले अहिले धागोबाट विभिन्न सामग्री बनाउन व्यस्त छन् ।

    “पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउन कठिन हुन्थ्यो,” उनले भने, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”

    images
    images

    धागोबाट विभिन्न सामग्री बनाउने सीप सिकेपछि आम्दानीसँगै आत्मविश्वास पनि बढेको उनको अनुभव छ ।

    त्यस्तै, पूर्वी रुकुमबाट अध्ययनका लागि घोराही आउनुभएकी झरना बुढामगर पनि अध्ययनबाहेकको खाली समयलाई सीप र आम्दानीमा परिणत गर्न सफल भएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगसँग जोडिएपछि उनले धागोबाट विभिन्न सामग्री बनाउन सिकेको हो ।

    “अहिले त व्यस्त भइयो,” उनले भन्छन्, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।”

    उद्योगमा अहिले स्याउ, सुन्तला, गाजरलगायतका आकर्षक नमुना, खेलौना, वर्णमाला तथा विद्यालयमा प्रयोग हुने विभिन्न शैक्षिक सामग्री धागोबाट बनाइने गरिएको छ । ‘ए टु जेड’ का अक्षरदेखि जेब्रासम्मका सामग्रीसमेत धागोबाटै तयार हुने गरेका छन् ।

    स्वप्न होजियारी उद्योगकी प्रमुख रचना सुवेदीका अनुसार उद्योगमा ५६ प्रकारका धागोबाट बनाइने सामग्री उत्पादन हुँदै आएका छन् । घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको संस्थाले महिलालाई तालिमसँगै रोजगारीमा जोड्दै आएको छ ।

    विद्यालयहरूले समेत वातावरणमैत्री तथा सुरक्षित सामग्रीको प्रयोग बढाउन थालेपछि धागोबाट बनेका सामग्रीको माग बढेको सुवेदीले बताए ।

    “सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ,” उनले भन्छन, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले यसको माग बढेको छ ।”

    ऊनी धागोबाट तयार गरिएका सामग्री बालबालिकाका लागि तुलनात्मक रूपमा सुरक्षित हुने उद्योगको भनाइ छ । अन्य सामग्रीबाट चोट लाग्ने जोखिम हुने भए पनि धागोका सामग्रीमा त्यस्तो जोखिम कम हुने र पुनः प्रयोग गर्न सकिने भएकाले यसको आकर्षण बढेको छ ।

    बिक्रीबाट श्रमिकलाई ५० प्रतिशत

    स्वप्न होजियारी उद्योगले व्यापारसँगै स्वरोजगार सिर्जना गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको छ । उद्योगमा हाल १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उद्योगले श्रमिकलाई काम सिकाउनुका साथै उत्पादित सामग्रीको बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत पारिश्रमिकका रूपमा उपलब्ध गराउने गरेको छ ।

    “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ,” सुवेदीले भन्छन, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”

    उद्योगमा तयार हुने ‘ए टु जेड’ सामग्रीको एउटा सेट रु पाँच हजारमा बिक्री हुने गरेको छ । उक्त बिक्रीबाट प्राप्त रकमको आधा हिस्सा सामग्री तयार गर्ने श्रमिकलाई उपलब्ध गराइन्छ । पछिल्लो समय यस्ता सामग्रीको मागसमेत बढ्दै गएको उद्योगले जनाएको छ ।

    २०६३ देखि सीप र रोजगारीमा जोड

    घोराहीमा विसं २०६३ देखि सञ्चालनमा रहेको स्वप्न होजियारी उद्योगले स्थापना कालदेखि नै होजियारीसम्बन्धी तालिम प्रदान गर्दै आएको छ । उद्योगबाट तालिम लिएका धेरै महिला रोजगारी तथा स्वरोजगारसँग जोडिन सफल भएका छन् ।

    उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई धागो र सियोबाट सामग्री उत्पादनसम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।

    धागो र सियोबाट सुरु भएको सामान्य सीप अहिले महिलाका लागि आम्दानी, रोजगारी र आत्मनिर्भरताको माध्यम बन्दै गएको छ । घरायसी कामपछि खाली समय बिताउने महिलालाई उत्पादनमूलक काममा जोड्दै आएको यस्तो पहलले महिला उद्यमशीलता बढाउनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नसमेत योगदान पुर्‍याएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend