काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षको उमेर हद प्रस्ताव गरेका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन्।मन्त्री पुनले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा युवा पुस्ता बढी दक्ष र ऊर्जावान् हुने भएकाले कार्यकारी नेतृत्वमा युवालाई नै प्राथमिकता दिनुपर्ने तर्क गरे। यद्यपि कानुनी जटिलताका कारण उमेर हद ६० वर्ष नै कायम गर्नुपर्ने अवस्था आएमा आफू लचिलो हुने स्पष्टता पनि उनले दिएका छन्।
यसका साथै मन्त्री पुनले कार्यकारी प्रमुखको अयोग्यतासम्बन्धी प्रावधानमा ‘जातीय भेदभाव तथा छुवाछुत’ लाई समेत समावेश गर्नुपर्ने प्रस्ताव अघि सारे। आफ्नो प्रस्तावबारे स्पष्ट पार्दै मन्त्री पुनले भने, ‘नवप्रवर्तनको क्षेत्रमा पुरानो पुस्ता अनुभवी भए पनि नयाँ प्रविधिका सवालमा युवा पुस्ता बढी जानकार हुन्छन्। कार्यकारी पदमा रहेर काम गर्न जोस र जाँगर आवश्यक पर्ने भएकाले ५५ वर्षको उमेर हद प्रस्ताव गरिएको हो।’ज्येष्ठ नागरिकहरूबाट सुझाव र मार्गदर्शन लिन सकिने उल्लेख गर्दै उनले छुवाछुतको विषयलाई पनि जोडदार रूपमा उठाए।
उनले थपे, ‘जातीय भेदभाव र छुवाछुत गर्नु गम्भीर अपराध हो। यो विषय अहिले निर्माण भइरहेको विधेयकमा समावेश गर्न जरुरी छ। यस्तो अपराधमा संलग्न व्यक्ति कार्यकारी पदका लागि अयोग्य ठहरिनुपर्छ।’हालको विधेयकमा यो विषय समावेश नभएको औँल्याउँदै उनले छुवाछुतलाई गम्भीर अपराधका रूपमा लिएर अयोग्यताको सूचीमा राख्नुपर्नेमा जोड दिए।




.gif)





