images

२०८३ आश्विन २ गते

images
images
images

मौलिक पहिचान बोकेको पाल्पाली ढाका पर्यटकको रोजाइमा

मौलिक पहिचान बोकेको पाल्पाली ढाका पर्यटकको रोजाइमा

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • पाल्पा, २९ साउन । पाल्पाको तानसेन भन्नेबित्तिकै धेरैको सम्झनामा आउने मौलिक पहिचानमध्ये पाल्पाली ढाका टोपी पनि एक हो। आकर्षक बुट्टा, रंगीन डिजाइन र स्थानीय पहिचान बोकेको ढाका टोपी पछिल्लो समय पाल्पा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको उपहारसमेत बन्न थालेको छ।

    images
    images

    पाल्पाली ढाका टोपीको मूल्य आकार, डिजाइन र गुणस्तरअनुसार फरक पर्ने गर्छ। व्यापारीका अनुसार सामान्यतया एउटा ढाका टोपीको मूल्य ७ सय रुपैयाँदेखि माथि पर्छ। नेपाली लोकगीत तथा सांस्कृतिक प्रस्तुतिमा समेत पाल्पाली ढाकाको चर्चा हुँदै आएको छ, जसले यसको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ।

    पाल्पामा ढाका कपडा उत्पादनको इतिहास पुरानो मानिन्छ। तानसेनमा विसं २०१५ सालतिर गणेशमान महर्जनले ढाका कपडा उत्पादन सुरु गरेको इतिहास रहेको स्थानीय जानकारहरू बताउँछन्। त्यसयता पाल्पाली ढाकाले आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको छ।

    images
    images

    विशेष किसिमले बुन्ने प्रविधि र आकर्षक बुट्टाका कारण पाल्पाली ढाकाका उत्पादन अन्य स्थानका ढाकाभन्दा फरक मानिन्छन्। ढाका कपडाबाट टोपी, साडी, चोली, गलबन्दीलगायत विभिन्न सामग्री उत्पादन हुँदै आएका छन्। त्यसमध्ये ढाका टोपी नेपालीको मौलिक पहिरन र सांस्कृतिक पहिचानका रूपमा स्थापित छ।

    पाल्पा भ्रमणमा आउने पर्यटकले ढाका टोपी, साडी, गलबन्दी तथा अन्य ढाका सामग्रीलाई चिनो तथा उपहारका रूपमा खरिद गर्ने गरेका छन्। यसले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटन व्यवसायलाई समेत सहयोग पुर्‍याएको व्यवसायीहरूको भनाइ छ।

    ढाका उद्योगमा स्थानीय महिला तथा अन्य बासिन्दासमेत रोजगारीमा जोडिएका छन्। ढाका बुन्ने, कपडा तयार गर्ने तथा त्यसबाट विभिन्न सामग्री उत्पादन गर्ने काम स्थानीयस्तरमा आयआर्जनको महत्वपूर्ण माध्यम बनेको छ।

    पाल्पाली ढाकाका उत्पादन अहिले तानसेनमा मात्र सीमित छैनन्। देशका विभिन्न सहरमा यसको बजार विस्तार हुँदै गएको छ भने विदेशमा समेत पाल्पाली ढाकाका सामग्री पुग्न थालेका छन्। स्थानीय उत्पादन, रोजगारी र पर्यटनसँग जोडिएको पाल्पाली ढाकाले नेपाली मौलिक पहिचानलाई व्यावसायिक अवसरसँग जोड्ने माध्यमका रूपमा समेत आफ्नो स्थान बनाउँदै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend