काठमाडौँ । नेपाल र अमेरिकाबिच भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ। यो सम्झौता कार्यान्वयनमा आएसँगै नेपालको अमूल्य सांस्कृतिक र ऐतिहासिक सम्पदाको गैरकानुनी चोरी, तस्करी तथा अवैध हस्तान्तरण रोक्न अमेरिकी सरकारको ठुलो योगदान रहने बताइएको छ।नेपाल र अमेरिकाबिच २०८२ पुसमा हस्ताक्षरित सांस्कृतिक सम्पत्ति सम्झौताको कार्यान्वयन गर्दै अमेरिकाले नेपालका पुरातात्त्विक तथा मानवजातीय सामग्रीहरूको आयातमा लाग्ने प्रतिबन्धहरू कायम गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले जनाए अनुसार यस प्रतिबन्धले नेपालको न्यायोचित स्वामित्वमा रहेका प्राचीन कलाकृति, मूर्ति तथा सांस्कृतिक वस्तुहरूको गैरकानुनी ओसारपसार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नयाँ प्रतिबन्ध लागू भएसँगै नेपालबाट गैरकानुनी रूपमा अमेरिका पुर्याइने पुरातात्त्विक वस्तुहरू अमेरिकी भन्सारमै रोकिनेछन् र तिनलाई सुरक्षित रूपमा नेपाल फर्काउन सहज हुने बताइएको छ। नेपालको अमूल्य सांस्कृतिक सम्पदाको सुरक्षाका लागि अमेरिका पूर्ण रूपमा प्रतिबद्ध रहेको दूतावासले जनाएको छ। नेपाली नागरिकका साथै नेपाल भ्रमणमा आउने अमेरिकी पर्यटकहरूले पनि यी सांस्कृतिक धरोहरहरूको मौलिक रूपमै नेपालभित्रै अनुभव र अवलोकन गर्न सकून् भन्ने उद्देश्य यस सम्झौताको रहेको दूतावासले जनाएको छ।नेपालका चोरी भएका प्राचीन कलाकृतिहरू पछिल्ला वर्षहरूमा विभिन्न देशबाट फिर्ता ल्याउने क्रम बढिरहेका बेला अमेरिकाको यो कडा नीतिले सांस्कृतिक सम्पत्ति तस्करीविरुद्धको अभियानमा निकै ठुलो सहयोग पुगेको विश्वास लिइएको छ। यस्ता सम्झौताले अवैध ओसारपसारका सञ्जालहरू तोड्ने, अमेरिकी सङ्कलक तथा सङ्ग्रहालयलाई चोरिएका वस्तु अनजानमा खरिद गर्नबाट जोगाउने र आतङ्ककारी तथा अन्तर्देशीय अपराधीहरूतर्फ हुने आर्थिक प्रवाह रोक्ने काम गर्छन्।
यसले अमेरिकी नागरिकहरूले विश्वव्यापी सम्पदामा जिम्मेवारीपूर्वक पहुँच पाउन र अध्ययन गर्न सक्ने सुनिश्चित गर्दै अमेरिकी दूतावासहरूलाई साझेदार देशहरूसँग सम्बन्ध बलियो बनाउन पनि भूमिका खेल्ने बताइएको छ। अमेरिकी दूतावासका अनुसार विश्वभर सम्पन्न गरिएका र लागू भइसकेका ३० वटा यस्ता सम्झौताहरूसँगै अमेरिका सांस्कृतिक सम्पदा संरक्षणमा अगुवाइ गरिरहेको बुझिन्छ।




.gif)





