काभ्रेपलाञ्चोक । धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। ओपिडीबाहेकका अन्य सेवा भने तत्काल स्वास्थ्य बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ।
स्वास्थ्य बिमा बोर्डबाट सेवा प्रदान गरेबापत प्राप्त हुनुपर्ने रकम लामो समयदेखि भुक्तानी नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्ण रूपमा स्थगित गरेको थियो।
अस्पतालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डबाट प्राप्त हुनुपर्ने बक्यौता रकममध्ये रु आठ करोड भुक्तानी प्राप्त भएको जानकारी दिँदै भदौ १ गतेदेखि ओपिडी सेवा पुनः सञ्चालन गर्न लागेको जनाएको हो।
अस्पतालका स्वास्थ्य बिमा कार्यक्रमका स्रोत व्यक्ति प्रा। डा। बलराम मल्लका अनुसार अझै स्वास्थ्य बिमा बोर्डबाट करिब रु १७ देखि २० करोड भुक्तानी प्राप्त गर्न बाँकी छ। बाँकी बक्यौता रकम आगामी भदौ मसान्तसम्म भुक्तानी गर्ने आश्वासन बोर्डबाट प्राप्त भएको उनले बताए।
स्वास्थ्य बिमा सेवा लिन आउने सेवाग्राहीले यसअघि जस्तै आफू आबद्ध भएको साबिकको प्रथम सेवा बिन्दुबाट जारी गरिएको प्रेषण (रिफरल) पूर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ। ओपिडीअन्तर्गतको स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन नहुने अस्पतालले जनाएको छ।
बिमा बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम नियमित रूपमा भुक्तानी भएमा स्वास्थ्य बिमा सेवा सञ्चालनमा सहजता आउने डा। मल्लले बताए। लामो समयदेखि रोकिएको सेवा पुनः सञ्चालन भएपछि स्वास्थ्य बिमामा आबद्ध बिरामीको उपचारमा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य बिमामार्फत ओपिडी सेवा लिन आउने बिरामीका लागि रु २५ हजारसम्मको अधिकतम सीमा तोकिएको अस्पतालले जनाएको छ। उक्त सीमाभित्र रहेर मात्र उपचार सेवा लिन अस्पतालले सेवाग्राहीलाई अनुरोध गरेको छ।
डा. मल्लका अनुसार हाल अस्पतालले दैनिक करिब १ हजार २०० बिरामीलाई सेवा दिँदै आएको छ। स्वास्थ्य बिमाका सेवाग्राही थपिएपछि दैनिक १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिने गरी अस्पतालले तयारी गरिरहेको छ।
ओपिडीबाहेकका अन्य सेवा स्वास्थ्य बिमाअन्तर्गत पुनः सञ्चालन गर्ने विषयमा बोर्डसँग बिमा दाबी भुक्तानीबारे छलफल भइरहेको अस्पतालले जनाएको छ। बाँकी रकम भुक्तानी तथा आवश्यक सहमति भएपछि अन्य सेवा पनि सञ्चालन गर्ने विषयमा टुङ्गो लाग्ने डा.मल्लले बताए।




.gif)





