images

२०८३ आश्विन २ गते

images
images
images

स्वयम्भूमा बाँदरको आतंक, घरमै जाली र तारबार लगाएर बस्न बाध्य स्थानीय

स्वयम्भूमा बाँदरको आतंक, घरमै जाली र तारबार लगाएर बस्न बाध्य स्थानीय

images
images
शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • काठमाडौं, ३० साउन । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यसँगै त्यहाँका बासिन्दाको दैनिकी भने बाँदरको आतंकका कारण कष्टकर बन्दै गएको छ। बाँदरको बढ्दो संख्याका कारण स्थानीयवासी आफ्नै घर सुरक्षित राख्न जाली तथा तारबार लगाउन बाध्य भएका छन्।

    images
    images

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको कार्यकक्षमा साउन ३० गते भएको छलफलमा स्वयम्भू क्षेत्रका स्थानीयले बाँदरबाट भइरहेको क्षति र जोखिमबारे गुनासो राखेका थिए। स्थानीयले आफूहरू बाँदरविरोधी नभएको स्पष्ट पार्दै मानवीय र दीर्घकालीन रूपमा समस्या समाधान गर्न महानगरपालिकासँग आग्रह गरेका छन्।

    घरभित्रै पसेर सामानमा क्षति

    images
    images

    स्थानीयका अनुसार बाँदरका समूह घरभित्रै प्रवेश गरी खानेकुरा तथा अन्य सामानमा क्षति पुर्‍याउने गरेका छन्। एकपटक घरभित्र पसेपछि करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्मको सामानमा क्षति हुने गरेको उनीहरूको भनाइ छ।

    विशेषगरी भान्साबाट खानेकुराको गन्ध आएपछि बाँदरहरू आक्रामक हुने र घरभित्र प्रवेश गर्न खोज्ने गरेको स्थानीयले बताएका छन्। यसका कारण घरमा बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई लिएर समेत चिन्ता बढेको उनीहरूको भनाइ छ।

    केही वर्षमै बढ्यो बाँदरको संख्या

    छलफलमा स्थानीय श्याम प्रधानले प्रस्तुत गरेको विवरणअनुसार २०७५।७६ तिर स्वयम्भू क्षेत्रमा करिब १ हजार २० वटा बाँदर रहेकोमा अहिले संख्या बढेर करिब १ हजार ७ सय पुगेको छ।

    प्रधानका अनुसार ती बाँदर ‘ओल्ड वर्ल्ड’ प्रजातिका हुन् र हाल करिब १० वटा समूहमा सक्रिय छन्। बढ्दो संख्या र मानव बस्तीमा उनीहरूको प्रवेशका कारण समस्या थप जटिल बन्दै गएको स्थानीयको भनाइ छ।

    वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले थापाथली र त्रिपुरेश्वर क्षेत्रमा समेत बाँदरको समस्या बढेको बताए। उनका अनुसार केही बाँदर रातो रङप्रति आक्रामक हुने र बाटो हिँड्ने मानिसलाई चिथोर्ने तथा टोक्ने गरेका कारण सर्वसाधारण त्रसित छन्।

    व्यवस्थापनको जिम्मेवारीमा अन्योल

    बाँदर व्यवस्थापनका लागि विगतमा पनि विभिन्न प्रयास भए पनि जिम्मेवारी संघ सरकार वा स्थानीय सरकारमध्ये कसको भन्ने विषयमा स्पष्टता नहुँदा प्रभावकारी कार्यविधि बनाउन ढिलाइ भएको वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।

    उनले विगतमा विज्ञहरूले समस्या पहिचान गरे पनि व्यवहारिक समाधान प्रस्तुत गर्न नसकेको भन्दै अब महानगरपालिकाले ठोस पहल गर्नुपर्नेमा जोड दिए।

    नमूना कार्यक्रमबाट समाधान खोज्ने प्रतिबद्धता

    स्थानीय तथा जनप्रतिनिधिको गुनासो सुनेपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले मानिस र वन्यजन्तु दुवैको हित हुने गरी बाँदर व्यवस्थापनको दिगो उपाय खोजिने बताइन्।

    उनले स्थानीयवासी, वन्यजन्तु विज्ञ र अन्य सरोकारवालासँग सहकार्य गरेर तत्काल नमूना कार्यक्रम सञ्चालन गरी कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाइन्।

    छलफलमा बाँदरको व्यवहार, मनोविज्ञान र आवश्यकतालाई समेत ध्यानमा राखेर व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको थियो। जमिनको स्वरूप तथा रुखबिरुवामा क्षति नपुर्‍याई सुरक्षित ‘केज’ निर्माण गरी बाँदरलाई अनुकूल वातावरणमा व्यवस्थापन गर्न सकिने विकल्पबारे पनि छलफल भएको छ।

    सहरी क्षेत्रमा मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि महानगरपालिकाले सक्रियता बढाएसँगै स्वयम्भू क्षेत्रका बासिन्दामा समस्या समाधान हुने आशा पलाएको छ। स्थानीय तह, विज्ञ र समुदायबीचको समन्वयबाट बाँदर व्यवस्थापनको मानवीय तथा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend