काठमाडौं, ३१ साउन । निस्ट फाउन्डेसनले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई उच्च शिक्षा, प्राविधिक शिक्षा तथा चिकित्सा शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै अभिनन्दन गरेको छ।
फाउन्डेसनले विशेष समारोह आयोजना गरी शर्मालाई अभिनन्दनपत्र तथा दोसल्ला प्रदान गरेको हो। कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता निस्ट फाउन्डेसनका अध्यक्ष डा। माधवप्रसाद बरालले गरेका थिए।
अभिनन्दनपत्रमा शर्मालाई नेपाली उच्च शिक्षाका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गर्दै प्रतिकूल परिस्थितिमा काठमाडौं विश्वविद्यालय स्थापना गर्न तथा दुई दशकभन्दा लामो समय नेतृत्व प्रदान गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। उनको नेतृत्वमा विश्वविद्यालयलाई स्वायत्त, गैरसरकारी तथा अन्तर्राष्ट्रिय पहिचान बोकेको प्राज्ञिक संस्थाका रूपमा विकास गर्न योगदान पुगेको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका अनुसार शर्माले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थापक प्रमुखका रूपमा नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको आधार निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। गैरसरकारी क्षेत्रबाट चिकित्सा शिक्षाको विकासमा समेत उनले दूरदर्शी पहल गरेको अभिनन्दनपत्रमा उल्लेख छ।
शर्माको योगदानलाई शिक्षा क्षेत्रमा दृढ संकल्प, निष्ठा र निष्काम कर्मको उदाहरणका रूपमा प्रस्तुत गर्दै फाउन्डेसनले उनको सरलता, शालीनता, विनयशीलता, कार्यकुशलता तथा दूरदर्शितालाई नेपाली प्राज्ञिक क्षेत्रका लागि अनुकरणीय पक्षका रूपमा चित्रण गरेको छ। शर्माको ८७ वर्ष प्रवेशको अवसरमा फाउन्डेसनले उनको दीर्घायु, उत्तम स्वास्थ्य र सक्रिय जीवनको शुभकामनासमेत व्यक्त गरेको छ।
कार्यक्रममा नेपाल हाइयर एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थराज खनिया, काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. सीताराम अधिकारी, नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेश जोशी लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो।
कार्यक्रममा प्रा. डा. सीताराम अधिकारीले शर्माको व्यक्तित्व तथा शैक्षिक योगदानबारे चर्चा गरेका थिए। सो अवसरमा शर्माको योगदानमा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले शर्मालाई दोसल्ला ओढाएका थिए भने प्रमुख अतिथि रेग्मीले अभिनन्दनपत्र प्रदान गरेका थिए। प्रा. डा.तीर्थराज खनियाले पुष्पगुच्छ अर्पण गरेका थिए।
कार्यक्रममा प्रा. डा. शत्त्रुघ्न प्रसाद गुप्ता, प्रा.डा. महेश जोशी, प्रा. डा. तीर्थराज खनिया, प्रा.डा. सुरेशराज शर्मा र प्रमुख अतिथि खिलराज रेग्मीले मन्तव्य राखेका थिए।
निस्ट फाउन्डेसनका कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यकारी निर्देशक प्रणिता शर्मा बरालले धन्यवाद ज्ञापन गरेकी थिइन्।
समापन मन्तव्य राख्दै फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई आगामी दिनमा पनि पहिचान गरी सम्मान गर्दै जाने बताए। उनले प्रा. डा. सुरेशराज शर्माजस्तो विशिष्ट शैक्षिक व्यक्तित्वलाई अभिनन्दन गर्न पाउँदा फाउन्डेसन परिवार गौरवान्वित भएको उल्लेख गरे।




.gif)





