ढाका । बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै छ । देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्नेछन् । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बङ्गलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्नेल ओली अहमदबिच प्रतिस्पर्धा हुँदै छ ।निर्वाचनमा संसद्का ३४९ सांसदले मतदान गर्न पाउनेछन् । मतदान दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद्को मुख्य कक्षमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन अधिकृतले परिणाम घोषणा गर्ने कार्यक्रम छ । मतदान तथा परिणाम घोषणा प्रत्यक्ष प्रसारणसमेत गरिनेछ ।
बङ्गलादेशको ३५० सदस्यीय संसद्मा ३०० सामान्य र महिलाका लागि ५० आरक्षित सिट छन् । तर चट्टोग्राम–४ निर्वाचन क्षेत्र रिक्त रहेकाले हाल ३४९ सांसद मात्र मतदानका लागि योग्य छन् ।संसद्मा बीएनपीको स्पष्ट बहुमत रहेकाले मिर्जा फखरुल राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । संविधानको धारा ७० पनि यस निर्वाचनमा महत्त्वपूर्ण मानिएको छ । उक्त प्रावधानअनुसार कुनै दलको उम्मेदवारका रूपमा निर्वाचित सांसदले संसद्मा आफ्नै दलको निर्णय विपरीत मतदान गरेमा उनको सांसद पद गुम्न सक्छ ।
३५ वर्षपछि फेरि प्रतिस्पर्धा
बङ्गलादेशमा पछिल्लोपटक ८ अक्टोबर १९९१ मा एकभन्दा बढी उम्मेदवारबिच राष्ट्रपतीय निर्वाचन भएको थियो । त्यतिबेला बीएनपीका उम्मेदवार अब्दुर रहमान विश्वासले १७२ मत प्राप्त गर्दै अवामी लिगका उम्मेदवार न्यायाधीश बदरुल हैदर चौधरीलाई पराजित गरेका थिए । चौधरीले ९२ मत पाएका थिए भने ६६ सांसदले मतदान गरेका थिएनन् ।त्यसपछि संसदीय प्रणालीअन्तर्गत भएका सबै राष्ट्रपतीय निर्वाचन प्रतिस्पर्धाविहीन रहे । संसद्मा बहुमत प्राप्त दलले समर्थन गरेका उम्मेदवारहरू निर्विरोध राष्ट्रपति बन्दै आएका थिए ।सन् १९९६ मा शाहाबुद्दिन अहमद, २००१ मा एक्यूएम बदरुद्दोजा चौधरी, २००२ मा इजुद्दिन अहमद, २००९ मा जिलुर रहमान, २०१३ र २०१८ मा अब्दुल हमिद तथा २०२३ मा मोहम्मद शाहाबुद्दिन राष्ट्रपति निर्वाचित भएका थिए । ती सबै निर्वाचनमा उनीहरूका विरुद्ध प्रतिस्पर्धी उम्मेदवार थिएनन् ।यसपटक भने संसद्मा दुई उम्मेदवारबिच प्रत्यक्ष प्रतिस्पर्धा हुँदै छ । त्यसैले यो निर्वाचनलाई बङ्गलादेशको संसदीय लोकतान्त्रिक अभ्यासमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
राष्ट्रपतिको निर्वाचन प्रणालीमा पटक–पटक परिवर्तन
बङ्गलादेशमा स्वतन्त्रतापछि राष्ट्रपतिको निर्वाचन प्रणाली पटक–पटक परिवर्तन भएको छ । संसदीय प्रणालीअन्तर्गत पहिलो राष्ट्रपतीय निर्वाचन सन् १९७४ मा भएको थियो । त्यसबेला संसद्का सभामुख मोहम्मद मोहम्मदुल्लाह राष्ट्रपति निर्वाचित भएका थिए ।पछि सन् १९७८, १९८१ र १९८६ मा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन भयो । सन् १९७८ मा जियाउर रहमान, १९८१ मा न्यायाधीश अब्दुस सत्तार र १९८६ मा हुसेन मोहम्मद इरशाद प्रत्यक्ष मतदानबाट राष्ट्रपति निर्वाचित भएका थिए ।सन् १९९१ मा संसदीय प्रणाली पुनःस्थापित भएपछि राष्ट्रपतिको निर्वाचन अप्रत्यक्ष प्रणालीमा फर्कियो । त्यसपछि संसद्का सदस्यहरू नै राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचक बने ।यसपटक सत्तारूढ बीएनपीको समर्थनमा मिर्जा फखरुल र विपक्षी गठबन्धनका उम्मेदवार ओली अहमद मैदानमा छन् । संसद्मा बीएनपीको स्पष्ट बहुमत रहेकाले परिणाम मिर्जा फखरुलको पक्षमा जाने अनुमान गरिएको छ ।तर परिणामभन्दा पनि ३५ वर्षपछि राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिस्पर्धा हुनु आफैँमा महत्त्वपूर्ण मानिएको छ । यस निर्वाचनलाई बङ्गलादेशको संसदीय लोकतन्त्र, राजनीतिक प्रतिस्पर्धा र लोकतान्त्रिक संस्थाहरूको अवस्थाको परीक्षणका रूपमा समेत हेरिएको छ ।




.gif)





