मकवानपुर । बकैया गाउँपालिका–९, शिखरपुरमा एक गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीय पशुपन्छी शाखाले उच्च सतर्कता अपनाउँदै रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको छ।
जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने प्रकृति भएको यो रोगले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले समयमै सावधानी र खोप अनिवार्य रहेको पशुपन्छी शाखा प्रमुख एवं पशु चिकित्सक डा. अविनाश ठाकुरले जानकारी दिए।शिखरपुर क्षेत्रमा एक किसानको गाईमा अचानक अत्यधिक आक्रामक हुने, अस्वाभाविक रूपमा कराउने र मुखबाट निरन्तर र्याल काड्ने जस्ता असामान्य लक्षणहरू देखिएका थिए। उपचारकै क्रममा उक्त गाईको मृत्यु भएको थियो। घटनाको खबर प्राप्त हुनासाथ डा. अविनाश ठाकुरको नेतृत्वमा प्राविधिक अमिन अन्सारी, अजय बर्तौला र मोहित साहसहितको प्राविधिक टोली तत्काल घटनास्थल पुगेर निरीक्षण तथा जोखिम मूल्याङ्कन गरेको थियो।
टोलीले सुरुमा र्यापिड टेस्ट किटमार्फत परीक्षण गर्दा नतिजा प्रारम्भिक रूपमा पोजेटिभ आएको थियो। आधिकारिक पुष्टिका लागि साउन २९ गते नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएकोमा भदौ ३ गते प्राप्त अन्तिम रिपोर्टमा पनि रेबिज पोजेटिभ भएको पुष्टि भयो।रिपोर्ट प्राप्त हुनासाथ बकैया गाउँपालिका पशुपन्छी शाखाले सम्भावित जोखिममा रहेका क्षेत्रका किसानहरूलाई तत्काल गाउँपालिकामा बोलाएर रेबिजको प्रकृति र जोखिमबारे विस्तृत जानकारी गराएको छ। पशुपन्छी शाखाले गाउँपालिकाको स्वास्थ्य शाखासँग आवश्यक समन्वय गरी प्रभावित किसानहरूका लागि रेबिजविरुद्धको भ्याक्सिन (पीईपी) पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ।पशुपालक किसानहरूले पशुमा देखिने प्रारम्भिक र अन्तिम चरणका लक्षणहरूमा ध्यान दिनु आवश्यक छ। सुरुमा पशुको स्वभावमा अचानक परिवर्तन आउने, अत्यधिक उत्तेजित र आक्रामक बन्ने, मानिस वा अन्य पशुलाई टोक्न खोज्ने, निरन्तर कराउने र टोलाउने हुन्छ। पछि मुखबाट बाक्लो र अत्यधिक र्याल आउने, पानी वा घाँस-दाना निल्न नसक्ने, घाँटी र बङ्गारा कमजोर हुने, पछाडिका खुट्टा लुला हुने, शरीरमा पक्षघात हुने र अन्ततः मृत्यु हुने गर्छ।
रेबिज भाइरसबाट हुने शतप्रतिशत घातक रोग हो। लक्षण स्पष्ट रूपमा देखिइसकेपछि पशु वा मानिस कसैको पनि विशिष्ट उपचार सम्भव हुँदैन। आफ्ना घरपालुवा पशुहरूलाई समयमै रेबिजविरुद्धको खोप लगाउनु नै बचाउको एक मात्र उपाय हो। शंकास्पद वा सङ्क्रमित पशुले टोकेमा, कोरेमा वा र्याल घाउमा परेमा ढिलाइ नगरी पीईपी खोप लिनुपर्छ।सीमित स्रोत-साधनका बाबजुद बकैया पशुपन्छी शाखाले सतर्कता बढाउँदै निगरानी, परीक्षण र खोप व्यवस्थापनलाई तीव्रता दिएको छ। असामान्य व्यवहार देखाएका पशुको नजिक नजान, डोरीले बाँध्ने वा छुने प्रयास नगर्न र घरैमा घरेलु उपचार गरेर समय खेर नफाल्न अनुरोध गरिएको छ। गाईवस्तुमा अत्यधिक र्याल काड्ने वा पक्षघात जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको पशु स्वास्थ्यकर्मी वा पशुपन्छी शाखामा जानकारी गराउनुपर्छ। शंकास्पद पशुले टोकेमा घाउलाई तत्काल १० देखि १५ मिनेटसम्म बग्ने सफा पानी र साबुनले राम्ररी पखाल्ने र गाउँपालिकाबाट उपलब्ध गराइने खोप सेवा तुरुन्तै लिन शाखाले आग्रह गरेको छ।




.gif)





