काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा पुनः प्रमोद जोशी नियुक्त भएका छन् । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला सदस्य सचिव भएका जोशी गत वैशाखमा अध्यादेशमार्फत पदमुक्त भएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेसँगै गत वैशाखमा विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका एक हजार ५३४ जना पदाधिकारी स्वतः पदमुक्त भएका थिए ।
उनी माथि परिषद्को इथिकल स्वीकृति नलिई अनुसन्धान गरेको आरोप लागेको थियो । सरकारले मेरिटोक्रेसीका आधारमा पदपूर्ति गर्ने भनिएपनि अध्यादेशबाट पुनः प्रचण्ड सरकारको पालामा सदस्य सचिव बनेका जोशीलाई फेरि दोहोर्याएको हो। विगतका नियुक्तिहरू राजनीतिक आस्था र आबद्धताका आधारमा गरिएको भन्दै हटाइएका जोशी पुनः सोही जिम्मेवारीमा दोहोरिएका हुन् ।.जोशी यसअघि २०८० फागुन ९ देखि २०८३ चैतसम्म सदस्य सचिव बनेका थिए । जोशी त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेण्डेन्ट समेत थिए । डा.जोशी गेटा अस्पतालका समेत संस्थापक निर्देशक हुन् ।
डा. जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन्।उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्राेप्लास्टी तथा आर्थ्राेस्कोपीमा फेलोसिपसमेत गरेका छन् ।




.gif)





