images

२०८३ आश्विन २ गते

images
images
images

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

images
images
शनिवार, भाद्र ६ २०८३
शनिवार, भाद्र ६ २०८३
  • कास्की, ६ भदौ । पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आज हाइकिङ (पहाडी क्षेत्रमा पैदलयात्रा) गरिएको छ ।  

    images
    images

    पोखरा–१७ स्थित माछापुच्छ्रे विम्ब पार्क (ड्यामसाइड) बाट सुरु भएको हाइकिङ रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’ मा पुगेर सम्पन्न भएको थियो ।

    पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा विश्व पर्यटन दिवसका दिनमा गरिने पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धनका सात किमी दूरीमा हाइकिङ गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

    images
    images

    पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले ड्यामसाइड देखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिएका छन् । उनका अनुसार योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    “एसियाली विकास बैंकको सहयोगमा पैदलमार्गसँगै प्रतीक्षालय, रेलिङ लगायतका संरचना निर्माण गर्नेछौँ । ड्यामसाइड देखि ‘८५’ क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजना अन्तर्गत हालसम्म करिब सात किलोमिटर पदमार्ग निर्माण भइसकेको र बाँकी क्षेत्रमा काम गर्न बाँकी छ”, वडाध्यक्ष बरालले भनेका छन् ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका डाँडाकाँडामा रहेको पर्यटकीय सम्भावनालाई उपयोग गर्न पदयात्रा र पर्वतीय दौड जस्ता गतिविधि प्रभावकारी हुने बताएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने उनको भनाइ थियो ।
     
    पोखरा प्रवर्द्धन केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक दीननाथ बरालले आगामी असोज १० गते हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौडको तयारी स्वरूप हाइकिङ आयोजना गरिएको बताएका छन् । उनका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडामा रहेको कालाबाङ घरेडी बुद्धपार्क सम्म करिब आठ किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।

    यस वर्षको संस्करणमा स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिएका छन् । हाइकिङका क्रममा सहभागीले पुम्दीकोटको ५१ फिट अग्लो विशाल महादेवको मूर्ति तथा पछिल्लो समय सञ्चालनमा आएको ‘ड्रिम सिटी’ को अवलोकन गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend