अस्ट्रेलिया । फलाङ खाद्य शब्दकोशको योगदानको सम्मानस्वरूप सिटी मेयरबाट प्राप्त बधाई, शुभकामना तथा आत्मीय सम्मानप्रति नेपाली समुदायका तर्फबाट कृतज्ञता व्यक्त गरिएको छ। ह्विट्लसी काउन्सिलबाट प्राप्त उत्साहजनक प्रतिक्रिया, प्रोत्साहन र सद्भावले अस्ट्रेलियाका स्थानीय संस्थाहरूले सांस्कृतिक, बौद्धिक तथा सामुदायिक योगदानलाई दिएको महत्त्वलाई उजागर गरेको छ।
मेयरलाई प्रस्तुत गरिएको फलाङ खाद्य शब्दकोशलाई औपचारिक उपहारका रूपमा मात्र नभई अस्ट्रेलियाले आप्रवासी समुदायलाई प्रदान गरेको अवसरप्रति नेपाली समुदायको कृतज्ञताको प्रतीकका रूपमा लिइएको छ। अस्ट्रेलियाले आप्रवासीहरूलाई समाजमा सहभागी हुने, योगदान गर्ने र सामाजिक जीवनलाई थप समृद्ध बनाउने अवसर प्रदान गरेको सन्दर्भमा उक्त शब्दकोश सांस्कृतिक आदानप्रदानको माध्यम बनेको हो।
शब्दकोश मार्फत आप्रवासी समुदायको योगदान रोजगारी, व्यवसाय तथा आर्थिक गतिविधिमा मात्र सीमित नरहेको सन्देश पनि प्रस्तुत गरिएको छ। ज्ञान, संस्कृति, सिर्जनशीलता, अध्ययन, अनुसन्धान तथा बौद्धिक गतिविधिमार्फत पनि आप्रवासी समुदायले अस्ट्रेलियाली समाजमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा यस पहलले अघि सारेको छ।
फलाङ खाद्य शब्दकोशलाई ‘अमूर्त सामुदायिक पुँजी’ को एउटा उदाहरणका रूपमा समेत हेरिएको छ। भौतिक उपलब्धिलाई आर्थिक मूल्यमा मापन गर्न सकिए पनि बौद्धिक तथा सांस्कृतिक योगदानले सिर्जना गर्ने मूल्य फरक प्रकृतिको हुन्छ। यस्ता प्रयासले सांस्कृतिक समझदारी विस्तार गर्नुका साथै ज्ञान संरक्षण र बहुसांस्कृतिक अस्ट्रेलियामा समुदायको पहिचान तथा उपस्थितिलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
अस्ट्रेलियाको बहुसांस्कृतिक संरचनामा आप्रवासीहरूको योगदानलाई आर्थिक सूचकांकमा मात्र सीमित गर्न नसकिने धारणा पनि व्यक्त गरिएको छ। सरकारी तथ्याङ्क र जनसांख्यिकीय विवरणले विभिन्न समुदायको सामाजिक तथा आर्थिक सहभागिताको चित्र प्रस्तुत गरे पनि एउटा पुस्तक, सांस्कृतिक पहल, व्यावसायिक दक्षता, स्वयंसेवा वा ज्ञान संरक्षणजस्ता गतिविधिले सिर्जना गर्ने दीर्घकालीन सामाजिक मूल्यलाई पूर्ण रूपमा संख्यामा मापन गर्न कठिन हुन्छ।
यसै सन्दर्भमा फलाङ खाद्य शब्दकोशको प्रस्तुतीकरणलाई सांस्कृतिक आदानप्रदान, कृतज्ञता र नागरिक सहभागिताको विनम्र अभिव्यक्तिका रूपमा हेरिएको छ। आप्रवासीका रूपमा नयाँ देशबाट प्राप्त अवसरसँगै त्यस समाजलाई रचनात्मक योगदान दिने अवसर र जिम्मेवारी पनि जोडिएको धारणा यस पहलको मूल सन्देश हो।
यस दृष्टिकोण अनुसार बसाइँसराइको अर्थ व्यक्तिले नयाँ देशबाट के प्राप्त गर्यो भन्नेमा मात्र सीमित हुँदैनस उसले आफू बसेको समाजका लागि के योगदान गर्न सक्यो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
फलाङ खाद्य शब्दकोशको योगदानलाई सम्मान र प्रोत्साहन प्रदान गरेकोमा मेयर तथा ह्विट्लसी काउन्सिलप्रति पुनः आभार व्यक्त गरिएको छ। यस्तो प्रोत्साहनले सांस्कृतिक तथा बौद्धिक पहललाई निरन्तरता दिन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
बहुसांस्कृतिक अस्ट्रेलियाको पहिचान विभिन्न समुदायको सहअस्तित्वबाट मात्र नभई उनीहरूको सक्रिय सहभागिता, सिर्जनशीलता र साझा योगदानबाट निर्माण हुने सन्देश पनि यस अवसरले दिएको छ।
अन्ततः, कृतज्ञता शब्दमा मात्र सीमित नरही योगदानमा रूपान्तरण हुँदा त्यसले समुदाय र राष्ट्र दुवैका लागि दीर्घकालीन अर्थ राख्ने विश्वास व्यक्त गरिएको छ।




.gif)





