काठमाडौँ । नेपाली पाककला तथा आतिथ्य क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय शेफ कुमार चालिसेले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। सन् १९९६ मा होटल अन्नपूर्णबाट प्रशिक्षार्थीका रूपमा व्यावसायिक यात्रा सुरु गरेका चालिसेले एक्जिक्युटिभ शेफ, कर्पोरेट शेफ, कुलिनरी म्यानेजर, पाककला परामर्शदाता तथा प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।
चालिसेले अष्ट्रेलिया, स्विट्जरल्यान्ड, मकाउ, जर्मनी, फ्रान्स, कतार, स्पेन, दक्षिण कोरिया र बेलायतलगायतका देशमा आयोजित पाककला कार्यक्रम तथा खाद्य महोत्सवमा नेपाली परिकार प्रस्तुत गरेका छन्। सन् २०१३ मा मकाउमा आयोजित अन्तर्राष्ट्रिय खाद्य महोत्सवमा नेपाली खानाको प्रस्तुति गर्दै उनले ‘बेस्ट शेफ पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको उल्लेख छ। सन् २०१७ को सिड्नी नेपाली फूड फेस्टिभलमा समेत उनको सहभागिता रहेको थियो।
शेफका रूपमा मात्र नभई पाककला प्रशिक्षकका रूपमा समेत सक्रिय चालिसेले नयाँ पुस्तालाई व्यावसायिक सीप र ज्ञान हस्तान्तरण गर्दै आएका छन्। उनका अनुसार नेपालमा कुलिनरी स्कुल, रेस्टुरेन्ट तथा आतिथ्य व्यवसाय विस्तार हुँदै जाँदा पाककला क्षेत्रमा रोजगारी, उद्यमशीलता र अन्तर्राष्ट्रिय अवसरसमेत बढिरहेका छन्।
चालिसेका लागि नेपाली खाना स्वादको विषय मात्र नभई नेपालको संस्कृति, पहिचान र आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्ने माध्यम हो। काठमाडौंको भान्साबाट सुरु भएको उनको यात्रा अन्तर्राष्ट्रिय खाद्य महोत्सवसम्म पुग्नु नेपाली पाककलाको बढ्दो विश्वव्यापी सम्भावनाको उदाहरण बनेको छ।




.gif)





