वाशिङ्गटन डीसी । स्ट्रेट अफ होर्मुजमा रहेका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाएको वा निष्क्रिय बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।पश्चिम एशियामा जारी युद्धका कारण इरानले लामो समयदेखि यो सामुद्रिक मार्ग लगभग बन्द अवस्थामा राखेको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत नयाँ बारुदी सुरुङ राख्ने प्रयास गर्ने कुनै पनि जहाज वा डुंगालाई तत्काल र योजनाबद्ध रूपमा नष्ट गरिने चेतावनी दिएका छन् ।‘नयाँ सुरुङहरू राखेको कुनै पनि जहाज वा डुङ्गालाई तुरुन्तै र व्यवस्थित रूपमा नष्ट गरिनेछ भनेर इरानलाई सूचित गरिएको छ,’ पोष्टमा ट्रम्पले लेखेका छन् । ट्रम्पको पछिल्लो दाबीबारे इरानले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा ठुलो उतारचढाव देखिएको छ । युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने कुल तेल तथा तरलीकृत प्राकृतिक ग्यासमध्ये करिब २० प्रतिशत यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि युद्ध चर्किएको थियो । त्यसयता इरानले इजरायलका साथै यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रमाथि पनि आक्रमण गर्दै आएको छ । युद्ध अन्त्य गर्न वार्ताको वातावरण बनाउन गरिएको युद्धविराम पनि असफल भइसकेको छ । पछिल्ला दिनमा अमेरिका र इरानबिच बेलाबेलामा सैन्य झडप पनि भइरहेका छन् ।यसैबिच अमेरिकाले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देशलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्ने चेतावनी दिएका छन् । अमेरिका र इरानबिच जुन महिनामा स्ट्रेट अफ होर्मुजको विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। १४ बुँदे उक्त समझदारीमा होर्मुजको विषयमा सहमति खोज्न ६० दिनको समयसीमा तोकिएको थियो । साथै इरानको आणविक कार्यक्रमबारे पनि वार्तामार्फत समाधान खोज्ने प्रयास गरिएको थियो ।
तर तोकिएको समयसीमा सकिएपछि वार्ता अघि बढ्न सकेन । त्यसपछि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको हो । यी प्रतिबन्धले इरानको शासन व्यवस्था नै कमजोर हुने दाबी ट्रम्पले गर्दै आएका छन् । सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता इरान लामो समयदेखि अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ । इरानका अर्थमन्त्री अली मदानिजादेहले भने नयाँ प्रतिबन्धका लागि आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनका अनुसार प्रतिबन्धले अमेरिकालाई नै अर्को हारतर्फ धकेल्नेछ ।युद्ध र अमेरिकी नाकाबन्दीका कारण इरानको अर्थतन्त्रमा भने ठुलो दबाब परेको छ । अमेरिकाले केही सातादेखि इरानी बन्दरगाहमार्फत हुने व्यापार रोक्ने प्रयास गर्दै आएको छ । इरानी तेलको सबैभन्दा ठुलो खरिदकर्ता चीनले अमेरिकी नयाँ प्रतिबन्धको विरोध गरेको छ । चीनले अमेरिकाको एकतर्फी प्रतिबन्धलाई गैरकानुनी भन्दै आफ्नो अधिकार र हित जोगाउन आवश्यक सबै कदम चाल्ने बताएको छ । अमेरिका र चीनबिचको सम्बन्धका दृष्टिले पनि पछिल्लो घटनाक्रम महत्वपूर्ण मानिएको छ । ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को महिना वार्ता हुने तयारी भइरहेका बेला वासिङ्टनले इरानमाथि नयाँ दबाब बढाएको हो ।
अर्कोतर्फ, इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्न चाहेको संकेत दिँदै आएको छ । अमेरिका र अन्य धेरै देश भने यो क्षेत्र अन्तर्राष्ट्रिय जलक्षेत्र भएकाले त्यहाँबाट जहाजको आवतजावत निर्बाध हुनुपर्ने पक्षमा छन् । होर्मुजको व्यवस्थापनका लागि इरान र अमेरिकाको सहयोगी राष्ट्र ओमानबिच पनि केही समयदेखि वार्ता भइरहेको थियो । तर अहिलेसम्म त्यसबाट ठोस सहमति जुट्न सकेको छैन ।ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले मंगलबार इरानी समकक्षी अब्बास अराघ्चीसँग तेहरानमा भेट गरेपछि होर्मुजमा अस्थायी सामुद्रिक मार्ग खोल्ने विषयमा छिट्टै घोषणा हुन सक्ने आशा व्यक्त गरेका छन् । सुरक्षित जलयात्रा पुनः सुरु गर्न व्यावहारिक व्यवस्था आवश्यक रहेको बताउँदै उनलेस्थायी समाधान र स्ट्रेटको भविष्यको व्यवस्थापनबारे निर्णय पछि गरिने बताएका छन् ।अराघ्चीले पनि पाकिस्तान र ओमानका प्रतिनिधिसँग भएको छलफलमा क्षेत्रीय समाधान खोज्ने विषयमा कुराकानी भएको बताएका छन् । उनका अनुसार होर्मुजको भविष्यको व्यवस्थापन, नयाँ सामुद्रिक मार्गको संरचना र बारुदी सुरुङ हटाउने संयुक्त अभियानबारे समेत छलफल भएको छ ।




.gif)





