साउदी अरब । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सम्पर्क विभागले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।
सम्पर्क विभागका सभापति भुपाल भण्डारीका अनुसार संगठनमा आबद्ध पदाधिकारी तथा सदस्यहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन्। विपद्को कठिन समयमा मातृभूमिका नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।
सभापति भण्डारीले सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यप्रति धन्यवाद व्यक्त गर्दै सहयोग गर्ने व्यक्तिहरूको नामावली र रकमको विवरण चाँडै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जानकारी दिए।
उनले विपद्को समयमा विदेशमा रहेका नेपालीहरूले आफ्नो क्षमता र स्रोतअनुसार मातृभूमिका नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको बताए।
साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिकसँगै विभिन्न सामाजिक, राजनीतिक तथा पेशागत संघसंस्था सक्रिय छन्। नेपालमा प्राकृतिक विपद्, महामारी तथा अन्य मानवीय संकट आइपर्दा साउदीमा रहेका नेपाली समुदायले विगतदेखि नै राहत, उद्धार तथा आर्थिक सहयोग गर्दै आएका छन्।
भोटेकोशी बाढीपछि पनि साउदी अरबमा रहेका नेपाली समुदाय, गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न भ्रातृ संगठन तथा सामाजिक संस्थाहरूले राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन गरिरहेका छन्।
प्रवासी नेपालीबाट मातृभूमिका लागि जुटाइएको यस्तो सहयोगले विपद्को समयमा मानवीय एकता र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको सम्बन्ध र जिम्मेवारीलाई समेत उजागर गरेको छ।
विपद्का बेला आर्थिक सहयोग जुटाउनु मात्र नभई संकलित रकमलाई पारदर्शी, व्यवस्थित र संस्थागत रूपमा परिचालन गर्नु महत्वपूर्ण हुने भएकाले यस्ता अभियानले राहत व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।




.gif)





