काठमाडौं । नेपाल सरकारले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका बाढी प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
गृह मन्त्रालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन उक्त घोषणा गरिएको हो।
मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१०० ले दिएको अधिकार प्रयोग गरी ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ।
भोटेकोसीमा आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा जनजीवन प्रभावित हुनुका साथै सडक, पुल, विद्युत्, खानेपानी तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःनिर्माणका काम अघि बढाउन सरकारको यो घोषणाले कानुनी तथा प्रशासनिक सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै सम्बन्धित स्थानीय तहमा विपद् व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने बाटो खुलेको छ।





.gif)





