काठमाडौं । बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ विज्ञ टोलीलाई घटनास्थलमा खटाइएको हो।
चिनियाँ हेलिकप्टरमार्फत टोली त्रिशूली क्षेत्रमा पुगेको जनाइएको छ। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्था, जोखिम तथा उद्धारको सम्भाव्यताबारे प्राविधिक अनुगमन गर्नेछ।
सुरुङभित्रको अवस्थाबारे प्रारम्भिक प्राविधिक अनुगमनपछि उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत घटनास्थलमा बोलाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीका कारण आयोजनाको क्षेत्रमा जटिल अवस्था सिर्जना भएपछि नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोली उद्धारमा सक्रिय छन्। थप प्राविधिक जनशक्ति परिचालनसँगै उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





