images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौं महानगरले...

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौं महानगरले विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालनमा ल्यायो

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौं महानगरले विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालनमा ल्यायो

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन र विपद्सम्बन्धी सूचना आदानप्रदानलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन हेल्प डेस्क’ तथा ‘विपद् सूचना केन्द्र’ सञ्चालनमा ल्याएको छ।

    images
    images

    प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा स्थापना गरिएको केन्द्रले बाढी प्रभावित व्यक्ति तथा समुदाय, सहयोग गर्न इच्छुक नागरिक, निजी क्षेत्र र विभिन्न संघसंस्थाबीच समन्वय तथा सहजीकरण गर्नेछ।

    महानगरपालिकाका अनुसार केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य बाढीका कारण महानगरवासीमा परेको क्षति तथा प्रभावको विवरण संकलन गर्नुका साथै उपलब्ध राहत तथा सहयोगलाई प्रभावित क्षेत्रको वास्तविक आवश्यकताका आधारमा परिचालन गर्नु हो।

    images
    images

    केन्द्रमार्फत नागरिकलाई विपद्सम्बन्धी आवश्यक सूचना उपलब्ध गराउने, सम्बन्धित निकायबीच समन्वय गर्ने तथा तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन सहजीकरण गरिनेछ।

    महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रभावित क्षेत्रको आवश्यकता र उपलब्ध राहत सामग्रीबीच सन्तुलन कायम गर्न विपद् सूचना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा आवश्यकताहरू निरन्तर परिवर्तन भइरहेकाले तथ्य तथा तथ्यांकमा आधारित भएर एकीकृत विपद् प्रतिकार्य अघि बढाउन केन्द्रले आवश्यक सूचना तथा व्यवस्थापनको स्पष्ट आधार तयार गर्नेछ।

    कार्यवाहक प्रमुख डंगोलले नगद सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेकी छन्। जिन्सी सामग्री वा सेवामूलक सहयोग गर्न चाहनेलाई भने महानगरपालिकासँग समन्वय गरेर मात्र सहयोग उपलब्ध गराउन उनले अनुरोध गरेकी छन्।

    विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपत्कालीन अवस्थामा परेका यात्रुका लागि निःशुल्क यातायात सेवा, घाइतेका लागि एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवा परिचालन भइरहेको जानकारी दिए।

    त्यस्तै, वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरपालिकाले सञ्चालन गरेको राहत तथा सहयोग अभियानप्रति ऐक्यबद्धता जनाउँदै व्यक्तिगत तर्फबाट करिब २ लाख ४८ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

    महानगरपालिकाका अनुसार विपद् व्यवस्थापन हेल्प डेस्कमा एक जना जनप्रतिनिधि र दुई जना कर्मचारी खटाइएको छ। केन्द्रले प्रभावित नागरिक तथा सहयोग गर्न चाहने व्यक्ति र संस्थाबाट प्राप्त सूचनालाई संकलन गरी आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्नेछ।

    सहायता तथा समन्वयका लागि सम्पर्क
    विपद् सूचना केन्द्रः ०१–५३४०८८०
    विपद् व्यवस्थापन विभाग प्रमुख अनिरुद्र नेपालः ९८४१३४९७३५
    मेट्रो एफएम स्टेशन म्यानेजर केशवप्रसाद नेपालः ९८४१२५०७८०

    महानगरपालिकाको विपद् व्यवस्थापन विभागले वडा तहबाटै बाढी तथा विपद्का कारण भएको क्षतिको विवरण संकलन गर्ने जनाएको छ। प्राप्त विवरणका आधारमा राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी र आवश्यकतामुखी बनाउने महानगरपालिकाको लक्ष्य छ।

    बाढी तथा प्राकृतिक विपद्का समयमा राहत सामग्रीको आवश्यकता, उपलब्धता र वितरणलाई व्यवस्थित बनाउन सूचना तथा समन्वय संयन्त्र महत्वपूर्ण हुने भएकाले महानगरपालिकाले सञ्चालनमा ल्याएको केन्द्रले प्रभावित नागरिकसम्म सहयोग पुर्‍याउन सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend