चैनपुर (बझाङ), १५ भदौ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ ।
यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आउने गोठालादेखि घुम्न आउने पर्यटकसम्म सबैका लागि उपचारको भरपर्दो गन्तव्य बनेको छ– मेडिकल ।
बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचार गर्न खप्तड पुग्ने गरेको बताउछन् । गाउँ नजिकै स्वास्थ्यचौकी भए पनि आफूलाई सेनाको मेडिकलप्रति बढी विश्वास लाग्ने उनको अनुभव छ । “ठूलो बिरामी भएर होइन । सानोतिनो बिरामको उपचार गर्नुपर्दा सधैँ खप्तड पुग्छु”, थापा भन्छन्, “खप्तडको दबाइले छिट्टै सञ्चो हुन्छ ।” उक्त मेडिकलमा औषधिमात्रै होइन, स्वास्थ्यकर्मीबाट राम्रो परामर्श पनि पाइने गरेको उनी बताउछन ।
खप्तडछान्नाकै तेजेन्द्र खड्काको अनुभव पनि उस्तै छ । खप्तडकोे स्वास्थ्योपचारप्रति उनको विश्वास बलियो छ । “उस्तै खालको औषधि पाए पनि खप्तडमा परामर्श असाध्यै राम्रो लाग्छ”, खड्का भन्छन, “त्यसैले नजिकैको स्वास्थ्यचौकी छाडेर सानोतिनो बिराम लागे खप्तड पुगिहाल्छु । घरमा अरू बिरामी हुँदा पनि खप्तड लैजान्छौँ ।” हिउँदबाहेक वर्षायाममा छान्नाका विभिन्न गाउँका मान्छे नै खप्तड उपचारका लागि पुग्ने गरेको खड्काले बताउछन ।
पर्यटकका लागि भरपर्दो सहारा
खप्तडमा वर्षभरि पर्यटकको आवागमन भइरहन्छ । धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिएको खप्तडमा विशेषगरी गर्मीयाममा पर्यटकको सङ्ख्या बढ्ने गर्छ ।
खप्तडको उचाइ, चिसो मौसम र लामो पैदलयात्राका कारण कतिपय पर्यटकलाई स्वास्थ्य समस्या देखिएपछि मेडिकल पुग्ने गर्छन् । लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुने लगायतका समस्या लिएर मेडिकल पुग्ने गरेको नेपाली सेनाले जनाएको छ ।
खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकायाका लागि खप्तडमा उपचारको विषय आउँदा नेपाली सेनाको मेडिकल पहिलो विकल्प हो । “खप्तडमा आउँदा उपचारका लागिमात्र होइन, दुःखसुख पर्दा पनि नेपाली सेना नजिकको साथीजस्तो बनेको छ”, रोकाया भन्छन, “पर्यटकका लागि त सेनाको मेडिकल निर्विकल्प जस्तै छ । कसैलाई चोटपटक लाग्दा पनि सहारा सेना नै छ ।”
खप्तडजस्तो लेकाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पाउनु आफैँमा ठूलो राहत हो । लेकमा स्वास्थ्य समस्या हुँदा फर्कन पनि कठिन हुन्छ । कतिपय अवस्थामा मौसम र भौगोलिक कठिनाइले झर्न सम्भव हुँदैन । त्यस्तो बेला सेनाको मेडिकलले स्थानीय र पर्यटकलाई तत्काल उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउँदै आएको समरजित गुल्मका गुल्मपति विजय खत्रीले बताउछन
मेलामा हजारौँलाई सेवा
हरेक वर्ष खप्तडमा लाग्ने गङ्गादशहरा मेला, उकालु पूर्णिमामा लाग्ने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
यी मेलामा विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् । भीडभाड हुने समयमा स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा मात्रै हरेक वर्ष हजारौँ नागरिकले स्वास्थ्य सेवा लिने गरेको समरजित गुल्मले जनाएको छ ।
शुक्रबार लागेको पूर्णिमा मेलामा मात्रै डेढ सय जनालाई निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । “यो वर्ष मौसम प्रतिकूल हुँदा कम श्रद्धालु आए । सफा मौसम भए धेरै नै हुन्थे । उपचारमा आउनेको लाइन पनि लामै हुन्थ्यो”, सेनानी खत्रीले भन्छन । मेलाका समयमा टाढाटाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर प्रभावकारी भएको उनले बताउछन ।
सेनाको सेवा मेला र विशेष अवसरमा मात्रै सीमित नभई हरेक दिनजसो दर्जनभन्दा बढी बाहिरका बिरामीको उपचार गरिने सेनानी खत्रीले बताउछन ।




.gif)





