images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो...

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपाली बलरको उत्कृष्ट प्रदर्शन र ओपनर अर्जुन कुमालको संयमित ब्याटिङको मद्दतमा नेपालले बिहीबार आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरसामु ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो । सामान्य लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा चार विकेट गुमाउँदै १०६ रन बनाएर सहज जित दर्ता गर्‍यो ।

    नेपालको जितमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले ७.३ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चिए । करणको प्रभावशाली बलिङका कारण मलेसियाको मध्यक्रम र तल्लोक्रम लामो समय क्रिजमा टिक्न सकेन ।

    images
    images

    ललित राजवंशीले ६ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक–एक विकेट लिए ।

    मलेसियाका कप्तान सइद अजिजले सर्वाधिक ३० रन बनाए । उनले ४९ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । अकिल वाहिदले २४, विरनदीप सिंहले १४ तथा मुहमद सहादतले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा घरेलु टोली १०३ रनमै सीमित भयो ।

    १०४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने कमजोर रह्यो । ओपनर आसिफ शेख पहिलो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका देव खनाल दुई रनमै पेभेलियन फर्किए ।

    त्यसपछि अर्जुन कुमालले एक छेउबाट धैर्यपूर्वक ब्याटिङ गर्दै नेपाली इनिङ्स सम्हाले । उनले ६८ बलमा चार चौकासहित अविजित ४५ रन बनाए । उनको संयमित ब्याटिङले नेपाललाई लक्ष्यतर्फ सहज रूपमा अघि बढायो ।

    इशान पाण्डेले २९ बलमा एक छक्का र दुई चौकासहित २० रन बनाए । रोहित पौडेलले १६ बलमा १० रन जोडे । अन्तिमतिर दीपेन्द्रसिंह ऐरीले ११ बलमा दुई चौकासहित अविजित १२ रन बनाएर नेपाललाई जित दिलाए । नेपालले अतिरिक्तबाट १७ रन प्राप्त गरेको थियो ।

    यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो भने नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

    समूह ‘ए’मा नेपालको चुनौती

    प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’मा कुवेत, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

    समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    प्रिमियर कपको नतिजा नेपालको आगामी एसिया कप यात्राका लागि समेत महत्वपूर्ण छ । सेप्टेम्बर १२ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोली सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कपमा स्थान बनाउन नेपालले प्रिमियर कपको उपाधि जित्नुपर्नेछ ।

    अभ्यास खेलदेखि मुख्य प्रतियोगितासम्म मलेसियामाथि नेपाल हाबी

    मुख्य प्रतियोगिता सुरु हुनुअघि नेपालले मलेसियासँग दुई अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । पहिलो अभ्यास खेलमा नेपाल डकवर्थ एन्ड लुइस नियमअनुसार नौ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा २७ रनको जित निकालेको थियो ।

    मुख्य प्रतियोगितामा पनि मलेसियालाई ६ विकेटले पराजित गरेपछि नेपालले घरेलु टोलीमाथि आफ्नो दबदबा थप बलियो बनाएको छ ।

    नेपालले अब समूह चरणको तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग खेल्नेछ । त्यसपछि सेप्टेम्बर ८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । लगातार दुई जित निकालेको नेपालका लागि आगामी खेल समूहको शीर्ष स्थानमा पुग्ने तथा सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दृष्टिले महत्वपूर्ण हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend