काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र लोकनृत्य ग्रीसमा प्रस्तुत गरिएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै ग्रीसको थेसालोनिकी शहरमा आयोजित १८औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको प्रतिनिधित्व गरेको हो ।
संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्व तथा निर्देशक सीतल आचार्यको संयोजनमा ग्रीस पुगेको नेपाली सांस्कृतिक टोलीले मेलामा नेपालको मौलिक लोककला, लोकनृत्य, परम्परा तथा सांस्कृतिक विविधता झल्काउने विभिन्न प्रस्तुति दिएको थियो ।
नेपालसहित सात देशका कलाकार तथा सांस्कृतिक टोली सहभागी मेलामा नेपाली कलाकारले मारुनी, कौरा, गर्रा, यति, कालभैरव, लाखे, मञ्जुश्री, धिमाल झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जातजातिका सांस्कृतिक पहिरन तथा परम्परागत शैलीमार्फत नेपाली टोलीले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गरेको थियो ।
नेपाली कलाकारहरूको प्रस्तुतिले दर्शक तथा सहभागीबीच नेपालको कला तथा संस्कृतिप्रति विशेष आकर्षण र उत्साह सिर्जना गरेको आयोजक पक्षले जनाएको छ ।
सांस्कृतिक टोलीमा संस्थापक अध्यक्ष डा। कोइराला ‘रामचन्द्र’, निर्देशक आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक केशव कोइराला र सपना महर्जन तथा कलाकारहरू पवित्रा आचार्य, कृष्ण रसाल, राजु गिरी, भवानी कोइराला, गौरी ढकाल, शान्ति कठायत र सुदनमान मुनिकार सहभागी थिए । व्यवस्थापक राम श्रेष्ठ ‘मान बहादुर’ तथा समूहका आइकन कलाकार सिराज कोइरालाको समेत सहभागिता थियो ।
मेलाका क्रममा नेपाली कलाकारहरूले ग्रीसका विभिन्न स्थानको अवलोकन गर्नुका साथै सहभागी देशका कलाकार तथा आयोजकसँग सांस्कृतिक अन्तरक्रिया र अनुभव आदानप्रदान गरेका थिए ।
निर्देशक सीतल आचार्यले आगामी दिनमा सरकारी तथा गैरसरकारी संस्थाबीच सहकार्य र समन्वय गर्दै यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमलाई थप विस्तार गर्ने पहल गरिने बताइन् । सांस्कृतिक आदानप्रदानलाई प्रभावकारी बनाउँदै नेपालको कला, संस्कृति तथा पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न संस्थाले निरन्तर काम गर्ने उनको भनाइ छ ।
यसैगरी, संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ले ग्रीसका स्थानीय नगरपालिका प्रमुख, मेला आयोजक तथा अन्य विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेका थिए । भेटका क्रममा नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावना, कला–संस्कृति आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।
डा. कोइरालाले सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा यस्ता सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
बाढीपीडितका लागि ग्रीसमै राहत संकलन
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली कला–संस्कृति प्रस्तुत गर्नुका साथै नेपाली टोलीले नेपालमा हालै गएको बाढीबाट प्रभावित तथा विस्थापित नागरिकका लागि राहत रकमसमेत संकलन गरेको छ ।
नेपाली टोलीको पहलमा संकलित राहत रकम सम्बन्धित प्रभावित तथा पीडितलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको संस्थापक अध्यक्ष डा। कोइरालाले जानकारी दिए । उनका अनुसार संकलित रकम एक–दुई दिनभित्र सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा नेपालको कला र संस्कृति प्रस्तुत गर्नुका साथै विपद्का समयमा प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग जुटाउने उद्देश्यले राहत संकलन गरिएको डा। कोइरालाले बताए ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपले लामो समयदेखि नेपाली लोककला, लोकनृत्य, लोकसंगीत तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्दै आएको जनाएको छ । समूहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक आदानप्रदानमार्फत नेपाल र विभिन्न मुलुकबीच आपसी सम्बन्ध, सद्भाव तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ ।




.gif)





