images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • फेवातालमा भारतीय पर्यटक सवार कार खस्दा...

फेवातालमा भारतीय पर्यटक सवार कार खस्दा दुईजनाको मृत्यु

फेवातालमा भारतीय पर्यटक सवार कार खस्दा दुईजनाको मृत्यु

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • पोखरा । भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ। पोखराको पामे–सेदीतर्फबाट लेकसाइड आउँदै गरेको भारतीय नम्बर प्लेटको कार शुक्रबार बिहान दुर्घटनामा पर्दा दुई भारतीय पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    images
    images

    प्रहरीका अनुसार दुर्घटनामा भारत बिहारको रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका २६ वर्षीय प्रियान्सु पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो।

    बिहान करिब ४ः५५ बजे पामे–सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गैराको चौताराको घुम्ती क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको थियो। कारमा चारजना भारतीय पर्यटक सवार रहेको प्रहरीले जनाएको छ।

    images
    images

    दुर्घटनापछि तत्कालै वडा प्रहरी कार्यालय बैदाम तथा सशस्त्र प्रहरी बल नेपाल, कालिका गणबाट सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। स्थानीयवासीको समेत सहयोगमा तालमा खसेका पर्यटकहरूको उद्धार गरिएको थियो।

    उद्धार गरिएका चारजनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा दुईजनाको मृत्यु भएको र अन्य दुईजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    उपचारपछि डिस्चार्ज हुनेमा भारत बिहार, मोतिहारी रक्सोलका २७ वर्षीय अनमोल कुमार यादव र सोही ठाउँका ३३ वर्षीय सुरज यादव रहेका छन्।

    दुर्घटनापछि तालमा खसेको कारलाई सुरक्षाकर्मी तथा उद्धार टोलीले क्रेनको सहयोगमा बाहिर निकालेका थिए।

    प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार कार घुम्ती क्षेत्रमा अनियन्त्रित भएर सडकबाट तालतर्फ खसेको देखिए पनि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

    फेवाताल क्षेत्रमा पर्यटकको आवागमन बाक्लो हुने भएकाले सडकको घुम्ती तथा तालतर्फको जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ। घटनापछि प्रहरीले दुर्घटनाको थप विवरण संकलन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend