images

२०८३ आश्विन २ गते

images
images
images

रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ सार्वजनिक

रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ सार्वजनिक

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ। मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ। काठमाडौँ र ललितपुरको सीमानामा अवस्थित बागमती र विष्णुमतीको सङ्गममा आयोजित कार्यक्रममा आख्यानकार अमर न्यौपानेले उक्त कृति सार्वजनिक गरेका हुन्।कार्यक्रम सुरु हुनुअघि सहभागीहरूले भोटेकोसी महाविपत्तिमा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्गमस्थलमा दीप प्रज्ज्वलन तथा मौनधारण गरेका थिए। कृष्णजन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको यस कृतिमा कृष्णजन्मस्थल मथुरालगायत नेपाल र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको ११ दिने यात्रावृत्तान्त प्रस्तुत गरिएको छ।

    images
    images

    कृति सार्वजनिक गर्दै आख्यानकार न्यौपानेले भ्रमण गरिएका स्थलसँग जोडिएका इतिहास, संस्कृति, विश्वास, जीवनशैली र यात्रानुभूतिलाई तिमसेनाले ‘सङ्गम’को व्यापक अर्थसँग जोडेकाले यो केवल यात्रावृत्तान्तका रूपमा मात्र नआई फराकिलो दृष्टिकोणसहित आएको बताएका छन्। नदीहरूका सङ्गमदेखि आस्था, संस्कृति, सभ्यता, भूगोल, मानवीय सम्बन्ध र अन्तर्मनका सङ्गमलाई जोड्दै बहुआयामिक अवधारणा प्रस्तुत गरिएको यो पुस्तक त्यस क्षेत्रको भ्रमण गर्न चाहनेहरूका लागि मार्गदर्शक दस्ताबेज हुने धारणा उनले राखेका छन्।

    नदीहरूले नेपाल र भारतका भूगोललाई जोडेजस्तै विभिन्न तीर्थस्थलले दुई देशबिचका साझा धार्मिक–सांस्कृतिक स्मृतिलाई जोडेको अनुभूति पुस्तकमार्फत गरिएकाले यो कृति सांस्कृतिक रूपले पनि महत्त्वपूर्ण हुने मकालु ग्रुप अफ कम्पनीका अध्यक्ष वासुदेव ढकालले बताएका छन्। बोधगया, सारनाथ र लुम्बिनीमा बौद्ध सभ्यतासँग साक्षात्कार गर्दा अथवा गया, काशी, प्रयागराज, नैमिषारण्य, मथुरा, अयोध्या, देवघाटलगायतका स्थानमा हिन्दु धार्मिक–सांस्कृतिक चेतनाका विविध आयामसँग भेटिँदा लेखकले ती स्थानका दृश्य र अनुभूतिलाई कृतिमार्फत बुन्ने काम गरेकाले यो पुस्तक पठनीय हुने ढकालले विश्वास व्यक्त गरेका छन्।बाहिरी भूगोलका साथै सहयात्रीसँगका भेट, बाटोका संवाद, देखेका दृश्य र मनका भावनालाई समेट्ने प्रयास गरिएको लेखक तिमसेनाले जानकारी दिएका छन्। १६४ पृष्ठ रहेको उक्त कृतिको मूल्य ३५० रुपैयाँ तोकिएको प्रकाशन गृहले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend