कास्की, २० भदौ । तीजमा घर फर्किएर दिदीबहिनीलाई नयाँ कपडा उपहार दिने र परिवारसँगै चाड मनाउने गोविन्दबहादुर अधिकारीको सपना अधुरै भएको छ ।
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत पोखरा–१४, समावेशी टोलका ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन छन् । बाढीमा बेपत्ता भएका उनको अवस्था हालसम्म अज्ञात छ ।
अधिकारीले तीजका लागि दिदीबहिनीलाई नयाँ कपडा किनेर राखेका थिए । भदौ ९ गते साँझ परिवारसँग भिडियो कलमा कुरा गर्दै उनले आफूले किनेका कपडा देखाएका थिए । “यो कलर कस्तो छरु” भन्दै उनले परिवार र दिदीबहिनीको प्रतिक्रिया लिएका थिए ।
त्यसको भोलिपल्ट आएको बाढीले उनको परिवारसँगको सम्पर्क नै टुटाइदियो ।
पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएका अधिकारी त्यस अवधिमा दुई पटक घर आएका थिए । बाढी आएको दिन बिहानसम्म पनि उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि भने उनको मोबाइलमा फोन गर्दा सम्पर्क हुन सकेन ।
परिवारले अधिकारीको खोजीमा विभिन्न अस्पताल, शव राखिएका स्थान तथा सम्भावित क्षेत्रमा खोजी गरेको थियो । धादिङमा भेटिएको एउटा शवको तस्बिर अधिकारीसँग मिल्दोजुल्दो देखिएपछि परिवार त्यहाँसम्म पुगेको थियो । तर, शव प्रत्यक्ष हेर्दा हातमा रहेको ट्याटुका आधारमा त्यो अधिकारीको नभएको पुष्टि भएको छोरा विनय अधिकारीले बताए ।
“बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ । तर केही जानकारी पाउन सकिएन । टिमुरे पुगेर त्यहाँको अवस्था देखेपछि अब बुबा फर्किनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन,” विनयले भने ।
लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर पोखराको रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरी काजकिरिया सुरु गरेको छ ।
बुबाको सम्झनामा कुशको शवसँगै मुरली
अधिकारी सहयोगी, मिलनसार र सामाजिक स्वभावका व्यक्ति रहेको छिमेकी तथा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले बताए । अधिकारी सम्पर्कविहीन भएदेखि नै समावेशी टोलमा सन्नाटा छाएको उनको भनाइ छ ।
“टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो । साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,” बरालले भने ।
सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा समेत रुचि राख्थे । समावेशी टोलका सहसचिवका रूपमा उनले टोलका समस्या समाधान तथा विकास निर्माणका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको अर्को परिचय थियो—मुरलीको मधुर धुन । साथीभाइ जम्मा भएका बेला मुरली बजाएर सबैलाई मनोरञ्जन दिने उनको बानी अहिले टोलवासीका लागि सम्झना बनेको छ ।
छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली सधैँ साथमा राख्थे ।
“साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ । अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भने ।
तीजको उपहार अब सम्झनामा
तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४ को समावेशी टोलमा बस्दै आएको छ । उनका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन् ।
दिदीबहिनीका लागि उनले तीजको उपहारका रूपमा किनेर राखेका कपडा अब परिवारका लागि उनको अन्तिम सम्झना बनेका छन् । तीज मनाउन घर फर्किने योजना बनाएका अधिकारी भने भोटेकोशीको बाढीपछि कहिल्यै घर फर्कन सकेनन् ।
गत भदौ १० गते रसुवामा आएको बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएका छन् । अन्यको अवस्था अझै अज्ञात रहेको छ ।
अधिकारीको परिवारजस्तै सम्पर्कविहीन अन्य व्यक्तिका परिवार पनि आफ्ना प्रियजन सकुशल फर्किने झिनो आशामा छन् ।




.gif)





