images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा...

धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा सुरु

धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा सुरु

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • धनकुटा, २० भदौ । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि प्रयास भए पनि आवश्यक पूर्वाधार, जनशक्ति र उपकरणको अभावमा रोकिएको सेवा अब आवश्यक मापदण्ड पूरा गरी सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन गरे । सेवा सञ्चालनमा आएसँगै धनकुटा तथा आसपासका जिल्लाका बिरामीले आकस्मिक अवस्थामा रगतका लागि सुनसरी र मोरङलगायतका जिल्ला पुग्नुपर्ने बाध्यता कम हुने भएको छ ।

    मन्त्री पराजुलीले रक्तसञ्चार केन्द्रलाई नियमित, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले धनकुटा जिल्ला अस्पतालको सेवा विस्तारका दृष्टिले रक्तसञ्चार केन्द्र सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

    images
    images

    पराजुलीले धनकुटा जिल्ला अस्पताललाई हालको ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिए । अस्पतालको क्षमता विस्तारसँगै आवश्यक पूर्वाधार, सेवा, जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारबाट पहल भइरहेको उनको भनाइ छ ।

    चार कर्मचारीबाट २४ घण्टा सेवा

    रक्तसञ्चार सेवा सञ्चालनका लागि मापदण्डअनुसार चार कोठे भवन निर्माण गरी आवश्यक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ । प्रारम्भिक चरणमा आवश्यक बजेट व्यवस्थापन भएपछि सेवा सञ्चालन गर्न सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए ।

    उनका अनुसार केन्द्रमा चौबीसै घण्टा सेवा सञ्चालन गर्न चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ ।

    रक्तसञ्चार सेवा सुरु भएपछि अस्पतालमा हुने शल्यक्रिया, प्रसूति सेवा, दुर्घटना तथा अन्य आकस्मिक उपचारका क्रममा आवश्यक पर्ने रगत तत्काल व्यवस्थापन गर्न सहज हुने भएको छ ।

    धनकुटा जिल्ला अस्पताल हाल ५० शय्यामा सञ्चालनमा रहे पनि सरकारी स्तरबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको अस्पतालले जनाएको छ । बिरामीको चाप भने स्वीकृत क्षमताभन्दा बढी रहेको अस्पतालको भनाइ छ ।

    डेढ दशकपछि पूरा भयो प्रयास

    धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन गर्ने प्रयास करिब डेढ दशकदेखि हुँदै आएको थियो । आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा अन्य मापदण्ड पूरा गर्न नसक्दा यसअघिका प्रयासले निरन्तरता पाउन सकेका थिएनन् ।

    लामो प्रयासपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, अस्पताल विकास समिति, स्थानीय तह, देश–विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा आवश्यक स्रोत जुटाइएको हो ।

    नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका अध्यक्ष छत्रकुमार श्रेष्ठले आवश्यक स्वीकृति लिएर केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बताए ।

    “लामो समयपछिको प्रयास अब सार्थक भएको छ । यसको निरन्तरताका लागि आवश्यक सामग्री तथा अन्य व्यवस्थापनमा स्थानीय तह र जनस्तरबाट निरन्तर सहयोग र समन्वय आवश्यक छ,” श्रेष्ठले भने ।

    उनले रक्तसञ्चार केन्द्र सञ्चालन गर्नु मात्र पर्याप्त नभई नियमित रूपमा रगत तथा आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

    १६ लाखभन्दा बढी सहयोग

    रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न सङ्घसंस्थाबाट १६ लाख ४५ हजार ४२८ रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको छ ।

    एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सञ्चालन गरिएको सहयोग अभियानमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का विभिन्न राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग आबद्ध व्यक्ति तथा विभिन्न देशमा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो ।

    राउतका अनुसार अमेरिका, जापान, चीन, अस्ट्रेलिया, हङकङ, फिलिपिन्सलगायतका देशमा रहेका नेपाली तथा सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको हो ।

    यसअघि धनकुटामा आकस्मिक रूपमा रगत आवश्यक परे बिरामीका आफन्तले सुनसरी, मोरङलगायतका जिल्लामा रहेका रक्तसञ्चार केन्द्रसँग समन्वय गरी रगत ल्याउनुपर्ने बाध्यता थियो । यसले बिरामी र आफन्तलाई थप आर्थिक तथा मानसिक भार पर्ने गरेको थियो ।

    अब जिल्लामै रक्तसञ्चार सेवा उपलब्ध भएपछि आकस्मिक अवस्थामा रगत व्यवस्थापन सहज हुने र उपचारका लागि बाहिरी जिल्लामा निर्भरता घट्ने अपेक्षा गरिएको छ ।

    अस्पताललाई १०० शय्यामा विस्तार गर्ने तयारी

    धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने तयारीसमेत अघि बढाइएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि भौतिक पूर्वाधार, जनशक्ति र सेवा सुविधा विस्तार गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ ।

    स्वास्थ्यमन्त्री पराजुलीले अस्पतालको क्षमता विस्तारका लागि प्रदेश सरकार निरन्तर पहलमा रहेको बताए । अस्पतालको सेवा र पूर्वाधार विस्तार भए धनकुटा तथा आसपासका नागरिकले उपचारका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता थप कम हुने अपेक्षा गरिएको छ ।

    रक्तसञ्चार सेवा केन्द्र उद्घाटनका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गर्ने राजेन्द्रकुमार राउत, द्रोणप्रसाद गुरागाईं, विजय सन्तोषी राई, विदुर खवासलगायत सहयोगदातालाई समारोहमा सम्मान गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend