काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपालको यातायात सम्पर्क पुनःस्थापना गर्न तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत उपलब्ध गराएको छ।
तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो। ‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित नेपाली र चिनियाँ भाषामा लेखिएको ब्यानर राखेर राहत सामग्री हस्तान्तरण गरिएको थियो।
सिजाङबाट पठाइएको राहत सामग्रीमा बेलीब्रिजका प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन्। उक्त सामग्रीबाट दुईवटा बेलीब्रिज निर्माण गर्न सकिने जनाइएको छ।
बाढी तथा पहिरोका कारण क्षतिग्रस्त क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना गर्नुका साथै उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले सामग्री पठाइएको हो।
यसै अवसरमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावास र चिनियाँ पक्षबीच राहत सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा नेपालका लागि ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली पक्षले विपद्का समयमा चीनले गरेको शीघ्र सहयोगप्रति आभार व्यक्त गरेको छ। तिब्बतबाट प्राप्त सहयोगले साझा हिमाल र नदीले जोडिएका नेपाल–तिब्बतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा विपद्का समयमा पारस्परिक सहयोगलाई थप मजबुत बनाउने विश्वास नेपाली पक्षले व्यक्त गरेको छ।




.gif)





