images

२०८३ आश्विन २ गते

images
images
images

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • पाल्पा, २० भदौ । नेपालले अङ्ग्रेज माथि विजय हासिल गरेको स्मरणमा पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा अर्थात् रथयात्रा निकालिँदै छ।

    images
    images

    हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवतीको रथयात्रा यस वर्ष २०७औँ पटक आयोजना हुन लागेको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए।

    तानसेन नगरपालिका–३ स्थित भगवती टोलमा रहेको भगवती मन्दिरबाट दिउँसो १२ः३० बजे शुभसाइतमा स्वस्ती वाचनसहित रथयात्रा सुरु हुनेछ। देश बाढीपहिरो लगायत प्राकृतिक विपत्तिको पीडामा रहेकाले यस वर्ष जात्रा विगतको तुलनामा संयमित र औपचारिक रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

    images
    images

    यस वर्ष पञ्चेबाजा र ढिमे बाजा प्रयोग नगर्ने निर्णय गरिएको छ भने नेपाली सेनाको बाजा प्रयोग गरिनेछ। नेपाली सेनाले सलामी दिएपछि रथलाई मन्दिरको तीन पटक परिक्रमा गराई यात्रा अगाडि बढाइनेछ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा जात्रा निकालिने कार्यक्रम रहेको छ। रथलाई शीतलपाटीको मूलढोकाबाहिर पुर्‍याएपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पूजा गरी बलि दिने परम्परा छ।

    भगवती जात्रालाई विजयजात्रा, रथयात्रा तथा सिन्दूर जात्राका नामले समेत चिनिन्छ। पाल्पाली प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायत क्षेत्रमा विजय हासिल गरेको स्मरणमा यो जात्रा मनाउन थालिएको हो।

    स्थानीय इतिहासअनुसार युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनस्थित भगवती देवीको चरण छोएर युद्धमा विजय हासिल भएमा मन्दिर निर्माण गरी सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। युद्धमा विजय हासिल गरेपछि उनले तीनतले मन्दिर निर्माण गरी विसं १८७७ देखि विजय उत्सवका रूपमा भगवती जात्रा सञ्चालन भएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइ छ।

    त्यसयता कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकाल्ने परम्परा निरन्तर रहँदै आएको छ। अङ्ग्रेजमाथिको विजयसँग जोडिएको भएकाले यो जात्रा पाल्पाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानका रूपमा स्थापित भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend