काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको अडिट–४ टनेलमा बाढीका कारण ११ दिनदेखि थुनिएका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाबाट आएको विपद् व्यवस्थापन विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओलाई सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो।
उद्धार गरिएका लुहाइताओलाई सुरुङको करिब २२५ मिटर भित्रबाट बाहिर निकालिएको जनाइएको छ। उद्धारलगत्तै थप उपचार तथा स्वास्थ्य निगरानीका लागि उनलाई नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ लगिएको छ।
बाढीका कारण उनी विगत ११ दिनदेखि सुरुङभित्र सम्पर्कविहीन अवस्थामा रहेका थिए। उनको स्वास्थ्य अवस्था र उद्धारका क्रममा देखिएको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
यसअघि शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको थियो। लगातारको उद्धार प्रयासपछि सुरुङभित्र फसेका कामदारको खोज तथा उद्धार कार्यले महत्वपूर्ण सफलता हासिल गरेको हो।




.gif)





