विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ५९औँ राधाकृष्ण रथयात्रा शनिबारदेखि सुरु भएको छ। राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो करिब ३ः३० बजे रथयात्रा सुरु भएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्णको विधिवत् पूजाआजा गरी रथयात्राको शुभारम्भ गरेपछि भक्तजनले रथ तान्न थालेका हुन्।
रथयात्रामा विराटनगरसहित नेपालका विभिन्न स्थानबाट आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी भएका छन्। आयोजकले यस वर्ष रथयात्रामा करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरेको छ।
भक्तजनको बाक्लो उपस्थितिसँगै विराटनगरका विभिन्न क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधि बढेको छ। रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। भिड व्यवस्थापन, निगरानी तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले ड्रोनमार्फत समेत निगरानी गरिरहेको जनाएको छ।
प्रहरीले रथयात्राका क्रममा उच्छृंखल गतिविधि गर्ने तथा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने जनाएको छ।
यस वर्षको रथयात्रामा डीजे साउन्ड प्रयोग गरिएको छैन। धार्मिक कार्यक्रमको मौलिकता र आध्यात्मिक वातावरणलाई प्राथमिकता दिँदै आयोजकले डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी तथा परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिएको हो।
रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ। त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा समापन हुनेछ।
करिब आठ किलोमिटर दूरी तय गर्ने रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।
राधाकृष्ण रथयात्रालाई विराटनगरको प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा लिइन्छ। प्रत्येक वर्ष नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन रथयात्रामा सहभागी हुने गरेका छन्।




.gif)





