images

२०८३ आश्विन २ गते

images
images
images

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, सयौँ उडान प्रभावित

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, सयौँ उडान प्रभावित

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडान सञ्चालन प्रभावित हुँदा राजधानी जकार्तास्थित देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ उडान रोकिएका छन् । अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको खरानी हवाई क्षेत्रमा फैलिएपछि सोएकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका हुन् ।इन्डोनेसियाली अधिकारीहरूका अनुसार आइतबार बिहान जकार्ता नजिकैको हवाई क्षेत्रमा ज्वालामुखीय खरानी देखिएपछि कम्तीमा २०९ वटा उडान स्थगित गरिएको छ । उडान रोकिएपछि २२ हजारभन्दा बढी यात्रु अलपत्र परेको बताइएको छ । उडान सञ्चालनमा लगाइएको रोकलाई स्थानीय समयअनुसार दिउँसो १३ः ३० बजेसम्म लम्ब्याइएको थियो । यस अवधिमा विमानस्थलमा ठुलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।

    images
    images

    इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार उडान स्थगनको मुख्य असर सिंगापुर जाने र सिंगापुरबाट इन्डोनेसिया आउने उडानमा परेको छ । यसका साथै दोहा, सिड्नी र क्वालालम्पुर लगायत अन्तर्राष्ट्रिय गन्तव्यका उडानसमेत प्रभावित भएका छन् ।ज्वालामुखीबाट निस्कोको खरानी विमान उड्ने हवाई क्षेत्रमा फैलिँदा विमानको इन्जिन तथा अन्य महत्त्वपूर्ण प्रणालीमा जोखिम उत्पन्न हुनसक्ने भएकाले सुरक्षाका कारण उडान रोकिएको अधिकारीहरूले बताएका छन् । विमानस्थलमा उडान रोकिएपछि यात्रुहरू लामो समयसम्म प्रतीक्षामा बस्नुपरेको छ ।सार्वजनिक तस्बिरहरूमा यात्रुहरू विमानस्थल भित्र बेन्चमा बसेर उडान पुनः सञ्चालन हुने प्रतीक्षा गरिरहेको देखिन्छ । अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति विस्फोट हुन थालेको थियो । त्यसपछि यस क्षेत्रमा लगातार भूकम्पीय गतिविधि, लाभाका फोहोरा तथा ठुलो आवाज सुनिएको स्थानीय अधिकारीहरूले बताएका छन् । आइतबार बिहान पनि ज्वालामुखीबाट थप दुईपटक विस्फोट भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

    ज्वालामुखीबाट निस्किएको खरानी र अन्य पदार्थ हावामा फैलिँदा आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । अनाक क्राकाटाउ जाभा र सुमात्रा द्वीपबिच रहेको सुन्डा स्ट्रेटमा अवस्थित छ । यसको नामको अर्थ क्राकाटाउको बच्चा हो । हालको ज्वालामुखी गतिविधिसँग सम्बन्धित कुनै सुनामी चेतावनी भने जारी नगरिएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।ज्वालामुखीबाट निस्किएको खरानीका कारण स्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्यमन्त्रीले स्थानीय बासिन्दालाई सकेसम्म घरभित्रै बस्न र मास्क प्रयोग गर्न आग्रह गरेका छन् ।ज्वालामुखीय खरानीका कारण श्वासप्रश्वास, आँखा तथा छालामा समस्या आउन सक्ने भएकाले सुरक्षा उपाय अपनाउन भनिएको हो । स्थानीय सञ्चारमाध्यम कोम्पासका अनुसार शनिबार केही विद्यालयले आफ्ना गतिविधि र कार्यक्रम रद्द गरेका थिए । विद्यार्थी तथा स्थानीय बासिन्दाले ज्वालामुखीय खरानीका कारण आँखामा जलन भएको गुनासो गरेपछि विद्यालयका गतिविधि रोकिएका हुन् ।

    images
    images

    अनाक क्राकाटाउ इन्डोनेसियाका लागि नयाँ जोखिम भने होइन । गत शताब्दीको सुरुवातमा समुद्रबाट बाहिर निस्किएदेखि यो ज्वालामुखी बेलाबेलामा सक्रिय हुँदै आएको छ । यो सन् १८८३ मा भएको विनाशकारी क्राकाटाउ ज्वालामुखी विस्फोटपछि बनेको विशाल ज्वालामुखीय संरचनाभित्र विकसित भएको हो ।सन् २०१८ को डिसेम्बरमा अनाक क्राकाटाउको ठुलो हिस्सा भत्किएपछि समुद्रमा विशाल सुनामी आएको थियो । उक्त सुनामीले जाभा र सुमात्राका तटीय क्षेत्रमा ठुलो विनाश मच्चाएको थियो ।त्यस घटनामा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौँ मानिस घाइते तथा विस्थापित भएका थिए । वैज्ञानिकहरूले पछि गरेको अध्ययनमा ज्वालामुखी भत्किँदा समुद्रमा खसेका केही चट्टानका टुक्रा ७० देखि ९० मिटर अग्ला रहेको पत्ता लागेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend