images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ...

भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • राँझा (बाँके), २३ भदौ । एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई ।  

    images
    images

    भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजु ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा छन् ।

    बुढेसकालको सहारा एक्लो छोरा, अभिभावकका रुपमा रहेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि थपुवास्थित रोकाय निवासमा अहिले सन्नाटा र आँसु मात्र छचल्किरहेको छ । ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र मनभित्रको गहिरो निराशाबीच अनलालको परिवार वियोगको भारी थाम्न विवश छ ।

    images
    images

    अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन् । स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहत बोकेर नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढासहितको टोली सोमबार अनलालको निवासमै पुगेको थियो ।

    “अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो”, कार्यवाहक वडाध्यक्ष बुढाले भावुक हुँदै अनलाललाई सम्झाएका छन् , “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ । आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई चाहिने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ ।” आफ्नो सिङ्गो परिवार नै बेपत्ता भएपछि शोकमा डुब्नुभएका अनलालका लागि गाउँलेको यो साथले थोरै भए पनि सहारा दिएको छ । “सहयोग सानो वा ठूलो भन्ने हुँदैन, दुःखको यो क्षणमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोग गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ”, गहभरि आँसु पार्दै अनलालले वडावासीप्रति आभार प्रकट गरेका छन्

    आफ्ना मान्छे जीवितै फर्किने आशा मर्दै जाँदा, अन्तिम संस्कारका लागि भए पनि शव पहिचान होस् भन्ने पर्खाइमा रोकाय परिवार रहेको छ । “बाढीपछि फेला परेका शवसँग मिलान गर्न डिएनए परीक्षणका लागि नमुना पठाइएको छ”, अनलालले आशा र निराशा व्यक्त गर्दै भने, “कम्तीमा डिएनए रिपोर्ट मिलेपछि त दाजु, भाउजु र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो ।”

    भोटेकोशीको त्यो विनाशकारी बाढीले बाँके जिल्लाका मात्रै २३ जनालाई बेपत्ता बनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, तीन जनाको सनाखत भएको छ । बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन सम्झना, पीडा र कहिल्यै नसकिने पर्खाइ बनेर बितिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend