काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि घोषणा गरिएको १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ । यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गरिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट व्यवस्थापन गर्न सकिनेबारे छलफल भइरहेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता बीरबहादुर धामीले उक्त रकम ससर्त अनुदानका रूपमा अधिकतम स्थानीय तह र केही अंश प्रदेश तथा सङ्घीय कार्यालयहरूमार्फत परिचालन गरिने बताए ।
यो योजना विशेष गरी अतिप्रभावित तीन जिल्लाहरु रसुवा, नुवाकोट र धादिङमा केन्द्रित रहनेछ। आवश्यकताको सही आकलन (निड एसेसमेन्ट) र प्रमाणीकरणका आधारमा रकम उपलब्ध गराइने उनको भनाइ थियो । यो बजेट केवल विद्यार्थीलाई नगद वा सिधा छात्रवृत्ति दिनेमा मात्र सीमित नभई उनीहरूको समग्र सिकाइ प्रक्रिया, शैक्षिक सामग्री, आवासीय सुविधा र पुनर्निर्माणजस्ता बालबालिकाको शिक्षासँग सम्बन्धित सम्पूर्ण सहयोगका लागि खर्च गरिनेछ ।भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको थियो ।प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।




.gif)



