काठमाडौँ । विश्वकै सबैभन्दा धेरै तलब पाउने राजनीतिक नेता सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिकमा करिब ११ लाख अमेरिकी डलर बराबरको वृद्धि हुने भएको छ ।सिंगापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीको तलब बढाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री वङको वार्षिक पारिश्रमिक प्याकेज २२ लाख सिंगापुर डलरबाट बढेर करिब ३६ लाख सिंगापुर डलर पुग्नेछ । यो वृद्धि ६० प्रतिशतभन्दा बढी हो ।वङले तलब वृद्धिबाट प्राप्त हुने अतिरिक्त रकम आगामी पाँच वर्षमा परोपकारी संस्थालाई दान गर्ने बताएका छन् । सरकारले उच्च सरकारी तलब आवश्यक रहेको बताउँदै सक्षम र प्रतिभाशाली व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । सिंगापुर सरकारले वितदेखि नै उच्च तलबले सरकारी अधिकारीलाई भ्रष्टाचारबाट टाढा राख्न सहयोग गर्ने तर्क गर्दै आएको छ ।
प्रधानमन्त्री वङका अनुसार व्यवसाय क्षेत्रका उच्च तहका व्यक्ति तथा वरिष्ठ सरकारी अधिकारीलाई आफ्नो आकर्षक करियर छाडेर राजनीतिमा आउन मनाउन कठिन भइरहेको छ ।सरकारले उनीहरूले निजी क्षेत्रमा कमाउने रकमसँग प्रतिस्पर्धा गर्न नसके पनि राजनीतिमा आउनका लागि आर्थिक अवरोध अनावश्यक रूपमा ठुलो बनाउन नहुने उनको भनाइ छ । नयाँ तलब प्रणालीअन्तर्गत सिंगापुरका मन्त्रीहरूको आधारभूत पारिश्रमिक पनि करिब ११ लाखबाट बढेर १२ लाख सिंगापुर डलर पुग्नेछ ।कार्यसम्पादनका आधारमा उनीहरूको वार्षिक आम्दानी कार्यकालको अन्त्यसम्म करिब १३ लाख ५० हजार सिंगापुर डलरसम्म पुग्न सक्ने बताइएको छ । मन्त्रीहरूको पारिश्रमिकको केही हिस्सा देशको बेरोजगारी दर, आम्दानी वृद्धि र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिजस्ता आर्थिक सूचकमा आधारित हुनेछ । तर तलब वृद्धिको निर्णयलाई लिएर सिंगापुरमै आलोचना सुरु भएको छ । देशमा रोजगारीको सुरक्षा, नयाँ स्नातकका लागि रोजगारीको अवसर र बढ्दो जीवनयापन खर्चबारे चिन्ता भइरहेका बेला नेताहरूको तलब बढाउने निर्णय जनताको समस्याप्रति असंवेदनशील भएको आलोचकहरूको भनाइ छ ।
सिंगापुरमा हाल औसत मासिक आय ५ हजार ७७५ सिंगापुर डलर रहेको छ । त्यसको तुलनामा प्रधानमन्त्री र मन्त्रीहरूले पाउने वार्षिक पारिश्रमिक निकै उच्च भएकाले यो विषय लामो समयदेखि विवादको विषय बन्दै आएको छ । हाल प्रधानमन्त्री वङको खाइपाइ आएको तलब वार्षिक २२ लाख सिंगापुर डलर छ । वृद्धिपछि उनको आम्दानी विश्वका अन्य प्रमुख राजनीतिक नेताभन्दा निकै अगाडि रहनेछ । हङकङका प्रमुख कार्यकारी जोन लीले करिब ७ लाख १९ हजार अमेरिकी डलर र स्विट्जरल्यान्डका राष्ट्रपति गाय पार्मेलिनले करिब ६ लाख ६ हजार अमेरिकी डलर कमाउँछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४ लाख अमेरिकी डलर छ भने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमको करिब २ लाख ३० हजार डलर रहेको छ ।




.gif)





